खुलामञ्चमा बसपार्क १५ गतेबाट हट्ने
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ बैशाख ९, बिहिबार

हाल खुला मञ्चबाट सञ्चालन भइरहेकाे सिटी बसपार्क बैशाख १५ गतेबाट हटाइने भएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको अध्यक्षतामा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाका अधिकारीविच सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।
वसपार्कको साथै त्यहाँ रहेका संरचनासमेत हटाई खुलामञ्च खाली गराउने प्रस्तावमाथि छलफल गर्दै यस्तो निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताउनुभयो ।
‘टिकट काउन्टर राखेर चलेका मध्यम दुरीका गाडी गोङ्गबु बस पार्कबाट सञ्चालन हुनेछन्, छोटो दुरीका सवारी पिक एण्ड ड्रप प्रणालीबाट चल्नेछन्’ ज्ञवालीले जानकारी दिनुभयो ।
पिक एण्ड ड्रप प्रणालीमा चल्ने गाडीहरुका सन्दर्भमा सार्वजनिक सूचना प्रकाशन गरिने पनि उहाँले जानकारी दिनुभयो ।
त्यहाँको बसपार्क सारेर बैशाख १५ गतेभित्र महानगरले त्यस ठाउँका सबै संरचना हटाउने जनाएको छ ।
आज सम्पन्न बैठकमा यातायात व्यवस्था विभागका निर्देशक लोकनाथ भुषाल, ट्राफिक प्रहरी महाशाखाबाट सुनिलजंग शाह, नगर प्रहरी उपरीक्षक धनपति सापकोटालगायतका अधिकारीहरुको सहभागीता थियो ।
साविक पुरानो बसपार्क भएको ठाउँमा काठमाडौँ टावर निर्माण हुने भएपछि निश्चित अवधिका लागि भन्दै खुलामञ्च सारिएको थियो ।
Categorized in स्थानीय