arin enterprises

घरमै बसी इद मनाउन मुस्लिम आयोगका अध्यक्षको अपिल

SamacharDesk – शिवेश शर्मा | २०७७ जेठ १०, शनिबार

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आइतबार मनाइने ‘इद उल फितर’मा घरमै बसी इद मनाउन अपिल गर्नुभएको छ ।

रमजानको २९औं रोजा अर्थात व्रत सम्पन्न हुने अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा बोल्दै आयोगका अध्यक्ष अन्सारीले विश्वभर कोरोनाभाइरसको आतंक मच्चिरहेको बेला घरमै बसेर इद मनाउन आग्रह गरे ।

साथै अन्सारीले आयोगको पटक पटकको आग्रहमा सम्पूर्ण मुसलिम समुदायले सामुहिक रुपमा मस्जिदमा भेला नभइ आफ्नै घरमा बसी सँस्कृतिलाई निरन्तरता दिएकोमा कृतज्ञता पनि व्यक्त गरे ।

रमजानको समयमा दिनमा ५ पटक नमाज पढ्नुको साथै तरावीको नमाज र हरेक शुक्रबार पढिने जुम्माको नमाज पढ्दै आएकोमा सबै मुसलिम समुदायलाई अन्सारीले धन्यवाद भने । 

यो महामारीको अवस्थामा संक्रमण फैलिन नदिन र चलनलाई निरन्तरता दिन मस्जिदमा ५ जना बसी नमाज पढ्न र बाँकीले घरमा नै बसेर पढ्नको लागि अन्सारीले पुनः आग्रह गरे ।

आज चन्द्रमा नदेखिएमा पर्छि इद उल फितरको नमाज अदा हुने अन्सारीले बताए । सोही अवसरमा देशको साथै विदेशमा रहेका सम्पूर्ण मुसलिमहरुप्रति आउँदै गरेको इद उल फितरको शुुभकामना पनि उनले व्यक्त गरे ।

महामारीको समयमा संक्रमण रोकथाम र नियन्त्रणतर्फ जोखिम मोलेर कार्यक्षेत्रमा लागिपरेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, समाजसेवी लगायत सम्पूर्ण सहयोगी हातहरुलाई पनि सलाम टक्य्राउन अन्सारीले छुटाएनन् ।

मुस्लिम आयोगले बैशाख ७ गते सर्वपक्षीय बैठक बसेर प्रत्येक जिल्लामा अनुगमन समिति गठन गरेको थियो । 

त्यस समितिको सक्रियतामा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुको विशेष पहलमा शंका भएकाको चेकजाँच गराई संक्रमितको पहिचान गरिएको हुँदा भयावह परिस्थितीसँग अहिले जुध्नु नपरेको उनको तर्क छ ।

अहिलेको विषम परिस्थितीमा खुसियालाी मनाउनमा भन्दा संक्रमणबाट देशलाई जोगाउनेतर्फ सबैको एकसुत्रीय ध्यान केन्द्रीत हुनुपर्नेमा अन्सारीले जोड दिए ।

Categorized in संस्कृति