भारतमा नेपाली नागरिकता देखाएरै सिमकार्ड किन्न पाउने
SamacharDesk | २०८० फाल्गुण ८, मंगलबार

भारतमा नेपाली नागरिकता देखाएरै सहज रुपमा भारतीय सिमकार्ड लिन पाउने भएको छ । भारतको संचार मन्त्रालय अन्तर्गतको दूरसंचार विभागले नेपाल र भुटानका नागरिकहरुका लागि सिमकार्डको केवाईसी इन्स्ट्रक्सन संशोधन गर्दै यो व्यवस्था ल्याएको हो ।
नेपालवाट सिधै भारत जाने नेपालीहरुले आफ्नो राहदानी, मतदाता परिचय पत्र वा दूतावासले जारी गरेको परिचयपत्रको आधारमा भारतको सिम लिन सक्नेछन् । तर, नेपालबाहेक अन्य स्थानबाट भारतमा प्रवेश गर्ने नेपालीहरुले भने वैध भिसा र टिकटसहितको राहदानी अनिवार्य देखाउनु पर्नेछ ।
नेपालीहरुले भारतमा सिमकार्ड लिन सास्ती भोग्नुपरेको भन्दै यसको अन्त्यका लागि औपचारिक अनुरोध गरेपछि केही हप्तामै भारतको विदेश मन्त्रालय र संचार मन्त्रालयले यस्तो कदम चालेको भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले बताएका छन् ।
यसप्रकारका सिम कार्डको भ्यालिडिटी भने बसाइँ अवधि वा भिसा वैधतामा सीमित हुने बताइएको छ ।
यस्तै भारतमा लामो समयसम्म बस्ने भएपनि एक पटकमा सिमकार्डको भ्यालिडिटी अधिकतम तीन महिनासम्मको हुनेछ । यस्तो सिममा अन्तर्राष्ट्रिय रोमिङ अनुमति भने हुनेछैन ।
Categorized in अन्तर्राष्ट्रिय