क्यान्सर विरामीहरुका लागि ‘कार टी सेल थेरापी’ पद्धति नेपालमा भित्रियो
SamacharDesk | २०८० माघ २०, शनिबार

क्यान्सरका विरामीहरुको लागि नेपालमा उपचारको नयाँ प्रविधि भित्रिएको छ ।
सेन्टर फर रिजेनरेटिभ मेडिसिन नेपालले ‘कार टी सेल थेरापी’ पद्धति नामक थेरापी शनिबार एक कार्यक्रमकाबीच भित्र्याइएको छ ।
सिआरएम नेपालले क्यान्सर उपचारका लागि अति उच्च प्रविधियुक्त सो थेरापीको प्रयोगशाला सफलतापूर्वक परीक्षण गरिएको जानकारी गराएको छ ।
सिआरएम नेपालका सल्लाहकार डा. सञ्जीवन गौतमका अनुसार अमेरिका र युरोपतिर प्रयोगमा ल्याइएको सो प्रविधि नेपालमा पनि उपयोगी हुने देखिएकाले आफूहरुले त्यसको प्रयोगशालाका सफलतापूर्वक परीक्षण कार्य सम्पन्न गरिएको बताए ।
रक्त क्यान्सरमा सफलतापूर्वक परीक्षण गरिएको सो उपचार पद्धति नेपालमा प्रयोगमा ल्याउँदा नेपालमा वर्षेनी १ सय भन्दा बढी बिरामीहरु लाभान्वित हुने पनि चिकित्सकहरुले प्रक्षेपण गरेका छन् ।
यसमा निकै महंगा खालका सामग्रीहरु जडान भएकाले यसको उपचार खर्च पनि धेरै भए पनि नेपालको सन्दर्भमा सहज र सस्तो तरिकाले बिरामीहरुले त्यो प्रविधि उपयोग हुनेगरी आफूहरुले योजना बनाउने काम गरिरहेको कम्पनीले जनाएको छ ।
सो प्रविधिलाई नेपालमा सस्तो र सहज ढंगले उपलब्ध गराउनका लागि अमेरिका, जर्मनलगायतका मुलुकका सम्बन्धित निकायहरुसँग छलफल भइरहेको पनि सिआरएम नेपालले जनाएको छ ।
Categorized in समाज