महिलालाई क्षमता अभिवृद्धि तालिम
SamacharDesk – बिराज | २०७९ पौष ८, शुक्रबार

भक्तपुरमा महिला तथा बेरोजगार युवा लक्षित क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । मध्यपुर थिमि नगरपालिका वडा नं. ९ को लागत साझेदारीमा श्री नीलबाराही महिला समुहले १५ दिने तालिम सञ्चालन गरेको हो ।
तालिम कार्यक्रमलाई सम्बोधन गर्दै मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजय कृष्ण श्रेष्ठले स्थानिय महिला तथा युवाको लागि सीप, क्षमता र दक्षता अभिवृद्धि गराउने कार्यक्रम आवश्यक रहेको जनाए ।
त्यस्तै, वडा नं. ९ का वडाध्यक्ष सानुकाजी राजबाहकले लक्षित वर्ग पहिचान गरी सञ्चालन भइरहेको तालिमले ठोस उपलब्धि हुने विश्वास व्यक्त गरे ।
उदघोषण, सिलसिला मिलाएर बोल्ने शैली, नेतृत्व विकास, संस्थागत संरचना र उद्यमशीलता विकास लगायतका शिर्षक रहेको तालिमबाट महिलाहरुले पारिवारिक र सामाजिक नेतृत्व गर्ने क्षमतामा सुधार ल्याउने संयोजक रेणु श्रेष्ठले बताइन् ।
स्थानिय महिला, युवा तथा बेरोजगारहरुको क्षमता विकास गराएर दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम कार्यक्रमको आयोजना गरिएको श्रेष्ठको भनाइ थियो ।
मुख्य स्रोत व्यक्ति सञ्चारकर्मी केके मानन्धर, उद्यमशीलतर्फका प्रशिक्षक सुमिना मानन्धर तथा लक्ष्मी श्रेष्ठ तालिम कार्यक्रममा सहजीकरणको भूमिकामा छन् ।
गत पुस १ गतेबाट सुरु गरिएको तालीम कार्यक्रम आउँदो पुस १५ गते समापन हुँदैछ ।
Categorized in स्थानीय