वनएक्स बेट प्रकरणमा पक्राउ परेकाहरु विरुद्ध अदालतमा मुद्दा दर्ता
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आषाढ २६, मंगलबार

गत महिना अवैध अनलाइन सट्टेबाजी एप वनएक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका दिनेश खड्का, अनिता धिताल लगायत १० जना कलाकार तथा युट्युबर विरुद्ध जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता भएको छ ।
उनीहरुलाई प्रहरीले एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवानाको माग सहित जिल्ला अदालतमा सोमबार मुद्दा दायर गरेको हो । जिल्ला सरकारी वकिल कार्यलयले एजेन्ट खड्का र धितालविरुद्ध ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ विगो दाबी गरी अभियोग पत्र दायर गरेको छ ।
उनीहरु विरुद्ध सोमबार मुद्दा दर्ता भई थुनछेक बहस भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयले बताए ।
जेठ ३२ र असार ८ गते कार्यालयले अनलाइन सट्टेबाजी प्लेटफर्म वनएक्स बेटको प्रचारमा संलग्न १० कलाकार तथा युट्युबरलाई पक्राउ सार्वजनिक गरेको थियो ।
पक्राउ पर्नेमा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर) पवन खतिवडा (म्याकुरी) अलिस राई, गणेश देवकोटा (गणेश जीडी), जलन घर्तिमगर (जलन), सरोज घिमिरे (ढेडु बुढो), बेगम नेपाली (भटभटे माइला), राज कुमार तामाङ रहेका थिए ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ अनुसार उनीहरुसँग विगो जफत गरेर ३ गुणासम्म जरिवाना वा ७ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्नेछ ।
नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्नु नहुने व्यवस्था छ ।
Categorized in अपराध