ललितपुरको पुल्चोक आसपासमा निषेधाज्ञा जारी
SamacharDesk | २०८० मङ्सिर ५, मंगलबार

जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि पुल्चोक आसपासको क्षेत्रमा ६ महिना सम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।
कार्यालय ललितपुरले पुल्चोकस्थित मन्त्री निवास र युएन हाउस वरपर निषेधित क्षेत्र तोकेको छ ।
ललितपुस्थित यु.एन.हाउस र मन्त्रि निवास पुल्चोकको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखी पूर्व तर्फ इनारमोड जाने मूलवाटो, पश्चिम राष्ट्रिय किताबखाना, उत्तर तर्फ आन्तरिक राजस्व कार्यालय र दक्षिण तर्फ राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय सहकारी विकास बोर्ड क्षेत्रसम्म संवेदनशीलताका लागि भन्दै सो क्षेत्रमा मंगलवारदेखि आगामी ६ महिनासम्मको लागि कुनै प्रकारको सभा, जुलुस वा प्रदर्शनी गर्न रोक लगाइएको छ ।
मंगलवार प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डितले जारी गरेको आदेशमा भनिएको छ,‘मंसिर ५ गतेदेखि आगामी ६ महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई नाराजुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ ।’
यस अघि सोमवार जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरदेखि नयाँ बानेश्वर क्षेत्र एक महिनाका लागि निषेधित क्षेत्र तोकेको छ ।
Categorized in समाज