arin enterprises

मानन्धर संघको ७१औं स्थापना दिवस सम्पन्न

SamacharDesk – बिराज | २०८० चैत्र १८, आइतबार

केन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भोज कार्यक्रमसँगै आफ्नो ७१औ स्थापना दिवस मनाएको छ ।

कार्यक्रममा समुदायभित्रका जनप्रतिनिधि, भिमरथारोहण सम्पन्न भएका ज्येष्ठ नागरिक, खेलाडी, नवविवाहित दम्पती साथै विभिन्न संकायमा विद्यावारिधी गरेकाहरुलाई सम्मान गरिएको थियो ।

सोही क्रममा बनेपाका मोहनलाल खिं मानन्धरको स्मृतिमा स्थापना गरिएको नगर रु. ५० हजार सहितको पुरस्कार डा. भगवानदास मानन्धरलाई प्रदान गरियो । नेपाल संवतलाई प्रविधिसँग जोड्नको लागि योगदान गरेबापत उनलाई पुरस्कृत गरिएको बताइएको छ ।

त्यस्तै, फर्पिङको हरिशंखर जात्रा सञ्चालन गर्दै आएका दक्षिणकाली नगरपालिकाका सुरेन्द्र मानन्धरलाई नगद २५ सहितको पुरस्कार प्रदान गरिएको छ । त्यस्तै, ६ दशक बढी समय देखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई नगद ५० हजारसहित बेखा नारायण देव कुमारी राष्ट्रिय प्रतिभा पुरस्कार दिइएको छ ।

प्रा. रामभक्त–सानुनानी मानन्धरको नाममा स्थापना गरिएको पुरस्कार विभिन्न विधामा विद्यावारिधी सकाएका डा. राजु, डा. राजभाइ र डा. विनिता मानन्धरलाई हस्तान्तरण गरियो । त्यसैगरी द्वारिका नारायण–हिरादेवीको नाममा स्थापितसलिंचा मचा नेवाः पुरस्कार विद्यार्थीद्वय संवीद र रोनिमा मानन्धरलाई हस्तान्तरण गरियो ।

मानविकी संकाय अन्तर्गत स्नातकोत्तर तह नेपालभाषा विषयमा उत्कृष्ट भएका अनिल स्थापितलाई सत्यतारा सम्मान दिइएको थियो । सोही एमबीबीएस, एमडी, प्लस टु, एमए, कम्प्युटर साइन्स, बीई, बीबीए, एसईई तहमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो ।

यो वर्ष विपन्न अभिभावकको पहिचान गरी समुदायभित्रका २ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

कार्यक्रममा बागमती प्रदेशका सांसद तथा पूर्वमन्त्री माननीय बसन्त मानन्धर, काठमाडौं महानगरपालिकाका प्रवक्ता १७ वडाध्यक्ष नवीन मानन्धर, विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरु, काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँ र टोलका प्रतिनिधि मानन्धरहरूको सहभागीता रहेको थियो ।

एकदिने भोज कार्यक्रममा रक्तदान, हस्तकला र घरेलु अचारको स्टल, बैंक तथा वित्तीय संस्थाहरुको प्रदर्शनी स्थल समेत राखिएको थियो । नेपाल रेडक्रस सोसाइटी गणबहाल शाखासँग समन्वय गरी रक्तदान कार्यक्रम राखिएको रक्तदान कार्यक्रमका संयोजक तथा संघका सह सचिव कृष्ण बहादुर मानन्धरले बताए ।

स्वयम्भू परिसरमा चैत्य स्थापना गरेको स्मरणमा मनाइँदै आएको परम्परागत भोज कार्यक्रमलाई पछिल्लो समय औपचारिक, सांस्कृतिक कार्यक्रमसँगै आर्थिक क्षेत्र प्रवद्र्धनसँग पनि जोडिएको संघले जनाएको छ ।

हजारौंको संख्यामा सहभागी हुने मानन्धरहरुलाई भोज खुवाउने जिम्मेवारी यो वर्ष काठमाडौं ईन्द्रचोकस्थित बाका देय् वटु सनाः खलःले लिएको थियो । आगामी वर्षको लागि न्यूरोड पाक्व पुखूद्यां मानन्धर सनाः खलःलाई भोज कार्यक्रम व्यवस्थापनको जिम्मेवारी दिइएको छ ।

सुरुमा दैसाः टोलले व्यवस्थापन गर्दै आएको स्वयम्भू भोज कार्यक्रममा चालिसको दशकदेखि अरु टोलले पनि सहकार्य गरेको हो ।

Categorized in समाज