arin enterprises

६६औं प्रहरी दिवसमा चैतमायालाई सम्मान

SamacharDesk – बिराज | २०७८ आश्विन २०, बुधबार

प्रधानमन्त्री शेरबहादुर देउवाले निष्पक्ष अनुसन्धानले पीडितलाई न्याय दिलाउनुका साथै राज्यमा दण्डहिनताको अन्त्य गर्न समेत मद्दत पुग्ने बताउनुभएको छ ।

६६ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री देउवाले कुनै पनि स्वार्थ तथा शक्तिबाट प्रभावित नभई निष्पक्ष अनुसन्धानमा नेपाल प्रहरीले सम्झौता नगर्नेमा विश्वास व्यक्त गर्नुभयो ।

समारोहमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरीले नागरिकको जीवन रक्षाको साथै देशमा अमन चयन कायम गर्न, संविधानको रक्षा र विधिको शासनको पालना गराउन अंग्रपक्तिमा रहेर कर्तव्य निष्ठ रहदै आएको चर्चा गर्नुभयो ।

बाढी, पहिरो तथा प्राकृतिक विपद् उद्धार, राहत र व्यवस्थापनको साथै कोभिड–१९ को महामारीको समयमा संक्रमणको पर्वाह नगरी अग्रपंक्तिमा खटेर नेपाल प्रहरीले निर्वाह गरेको महत्वपूर्ण भूमिकाको गृहमन्त्री खाणले प्रशंसा गर्नुभयो ।

समारोहमा धन्यवाद ज्ञापन गर्नुहुँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी गतिशिल संगठन भएकोले यसको समुचित कार्य बिशिष्टिकरण प्रहरीको ध्येय हुनुपर्ने चर्चा गर्नुभयो ।

समारोहमा प्रधानमन्त्री देउवाले प्रथम महिला प्रहरी सेवा निवृत्त प्रहरी सहायक निरीक्षक चैतमाया डंगोललाई ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गर्नुभयो ।

साथै कर्तव्य पालनाको क्रममा वीरगति प्राप्त गर्ने यस वर्ष घोषित ३३ जना अमर प्रहरीमध्ये ७ जना अमर प्रहरीका परिवारहरुलाई उहाँले कदरपत्र प्रदान गर्नुभयो ।

दिवसको अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री देउवा र गृहमन्त्री खाणले प्रहरी प्रधान कार्यालयस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुभयो ।

साथै महान्यायाधिवक्ता, प्रधान सेनापति, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त, सुरक्षा निकायका प्रमुखहरु, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, पूर्व प्रहरी अधिकृतहरु, नेपाल प्रहरी श्रीमती संघका प्रतिनिधिहरु, अमर प्रहरीका परिवारलगायतले अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरेका थिए ।

Categorized in राष्ट्रिय