च्याम्पियन्स लिगको अन्तिम १६ ‘ड्र’ सार्वजनीक
SamacharDesk – आकाश राजोपाध्याय | २०८० पौष ३, मंगलबार

च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को ‘ड्र’ सार्वजनीक गरिएको छ । सोमबार युरोपेली फुटबल महासंघले प्री–क्वाटरफाइनलको ‘ड्र’ सार्वजनीक गरेको हो ।
ड्र अनुसार इङ्लिस क्लब साविक विजेता म्यानचेस्टर सिटीले डेनमार्कको कोपेनहेगनसँग खेल्ने भएको छ । आफ्नो समूहमा म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै डेनिस च्याम्पियन कोपेनहेगन सन् २०११ पछि पहिलो पटक नकआउट चरणमा पुगेको हो ।
आर्सनलले एफसी पोर्टोसँग खेल्नेछ । १४ पटकको विजेता रियल म्याड्रिडले आर बी लाइपजिगसँग खेल्नेछ ।
गत सिजनको उपविजेता इन्टर मिलानले एट्लेटिको म्याड्रिडसँग खेल्नेछ भने बायर्न म्युनिखले लाजियोसँग खेल्नेछ । नापोलीले बार्सिलोनासँग खेल्नेछ ।
यस्तै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले रियल सोसिडाडसँग खेल्दा पिएसभीले बोरूसिया डर्टमन्टसँग हुनेछ ।
अन्तिम १६ को पहिलो लेग १३/१४ तथा २०/२१ फेब्रुवरी दोस्रो लेग ५/६ तथा १२/१३ मार्चमा हुनेछन् ।
फाइनल १ जुनमा लन्डनको वेम्वले स्टेडियममा हुनेछ ।
