चाँगु नारायणको कलश यात्रा हनुमान ढोका ल्याइयो
SamacharDesk – बिकाश | २०७७ श्रावण १६, शुक्रबार

चाँगुनारायणको कलश आज हनुमान ढोका ल्याइएको छ ।
चाँगुनारायणयको कलश यात्राको परम्परा अनुसार आज साउन शुक्ल द्वादशीका दिन चाँगुनारायणको कलश हनुमान ढोका ल्याइएको हो ।
चाँगुनारायणको कलशलाई चाँगुबाट मुलपानी, बौद्ध, चावहिल, नक्साल, कमलादी, रानीपोखरी हुँदै हनुमान ढोका दरबारसम्म ल्याइएको हो ।
चाँगुनायरायणको कलश यात्रामा चाँगुनारायण, सरस्वती र लक्ष्मीको कलश लाई चाँगुबाट हनुमान ढोका ल्याइने हो ।
चाँगुको कलश चाँगुनारायणका मूल पूजारी राजोपाध्याय ब्राम्हणले र लक्ष्मी सरस्वतीको कलश भडेलले बोक्ने गर्छन् ।
हनुमानढोका पुगेको कलशलाई तलेजुका पूजारी राजोपाध्याय ब्राम्हणले विधिपूर्र्वक पूजा गरी लसकुस (साँस्कृतिक परम्परा अनुसार स्वागत) गरेका थिए ।
सो अवसरमा कुमारी माजुको उपस्थिती रहेको थियो ।
हनुमानढोकाभित्र विधि अनुसार पूजा गरिसकेर कलशहरुलाई राष्ट्रप्रमुखकोमा लग्ने र राष्ट्रप्रमुखबाट दर्शन गरी प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ ।
कलशलाई हनुमान ढोका ल्याइनु अघि चाँगुमा चाँगुनारायणको विशेष पूजा गरी कर्कलोको भोग चढाउने परम्परा रहेको छ ।
किम्वदन्ति अनुसार लिच्छवी राजा पुष्पदेवको पालामा अनिकाल र महामारीले देश राज्य आक्रान्त बनेको थियो ।
सोही बेलामा राजाको सपनामा चाँगुनारायणलाई कर्कलोको भोग चढाई पूजा गर्ने आदेश देउताबाट भएछ । सोही अनुसार कर्कलोको भोग चढाई चाँगुनारायणको कलश यात्राको शुरुवात भएको मानिन्छ ।
चाँगु नारायणको कलश यात्रा वर्षमा दुई पल्ट हुने गर्दछ । जनैपुर्णिमा अघि साउन शुक्ल द्वादशीको दिनमा र पौष पुर्णिमाको दिनमा चाँगुनारायणको कलश हनुमान ढोका ल्याउने गरिन्छ ।
Categorized in संस्कृति