चाँगुनारायण कलश यात्रा सम्पन्न
SamacharDesk – बिराज | २०८२ पौष २०, आइतबार
पौष शुक्ल पुर्णिमा, यो दिनको धार्मिक, सांस्कृतिक रुपमा ठुलै महत्त्व छ । यो दिनबाट एक महिना लामो निकै कठोर मानिने श्री स्वस्थानीको व्रत सुरु हुन्छ । यो दिनबाट काठमाडौंको साँखुस्थित शालीनदीमा र भक्तपुरको हनुमानघाटमा माधवनारायणको व्रत र मेला नै सुरु हुन्छ ।
साथसाथमा हरेक सनातनी धर्मावलम्बीको घरघरमा स्कन्दपुराणमा केदारखण्डको माघमहात्म्य अन्तर्गतको स्वस्थानी व्रत कथा वाचन र श्रवण पनि सुरु हुन्छ ।
यसको साथमा यहि दिनमा एउटा विशेष सांस्कृतिक परम्पराले पनि निरन्तरता पाउँछ, जुन परम्पराले चाँगु र काठमाडौंको सम्वन्धलाई आजको दिनसम्म पनि जोडिरहेको छ ।
यो दिनमा चाँगुनारायण भगवानको कलश यात्रा काठमाडौंको तलेजु ल्याउने गरिन्छ । यो परम्पराले हिजो शनिवार निरन्तरता पायो ।
चाँगुनारायणका मूल पूजारी चक्रधरानन्द राजोपाध्यायले चाँगुनारायणको कलश र दायाँबायाँ भँडेलहरुले लक्ष्मी, सरस्वतीको कलश चाँगुबाट बोकेर पैदल हिँड्दै काठमाडौंको हनुमानढोका स्थित तलेजु ल्याए ।
‘कलश बोक्नेहरु निश्चित नियममा बस्नु आवश्यक छ । कलश निराहार ब्रत बसेका शुद्ध हुन्छन् । उनीहरुले जुत्ता पनि लगाउँदैनन् । पुसको यो चिसोमा खाली पेट र खाली खुट्टा पैदलै हिँड्दै हनुमान ढोका पुग्नु पर्छ’ पूजारी राजोपाध्यायले भने ।
चाँगुनारायणबाट मुलपानी चौर, दक्षिण ढोका, जोरपाटी, बौद्ध, चावहिल, कालोपुल, नक्साल, जमल पुर्याइन्छ । जमल पुगेपछि कलशलाई त्रिचन्द्र कलेज गेटबाट भित्र छिरेर जमलतर्फ रानीपोखरीको छेउमा रहेको मन्दिरमा कलश विसाइन्छ र पूजा गरिन्छ ।

जमलदेखि गुर्जुको पल्टनसहित पुनः सुरु हुने कलश यात्रा हनुमान ढोका पुगेको थियो ।
हनुमान ढोकामा लायकू कुमारीको उपस्थितीमा तलेजुका राजोपाध्याय भुजाहारीले कलशको विधिवत् पूजा गर्दै लसकुस गरेर तलेजु भित्र लग्ने परम्परा रहेको छ । भित्र कलशको विधिवत् पूजा सम्पन्न भएपछि तलेजुका राजोपाध्याय भुजाहारीबाट यज्ञ पनि सम्पन्न गरिन्छ ।
‘यज्ञ भनेको एउटा धार्मिक प्रकृया त भइहाल्यो । साथमा यस यज्ञको धुवाँबाट चाँगुनारायणको कलश काठमाडौं पुगेर पूजा सम्पन्न भएको सन्देश चाँगुमा पुर्याउने भनेर पनि भनिन्छ’ तलेजुका भुजाहारी राजीव राजोपाध्यायले भने ।
चाँगुको कलश हनुमान ढोका पुगेपछि माटाका भाँडाकुडा फुटाउने गरिएको छ । तर, चाँगुनारायणका पूजारी चक्रधरानन्द यसरी भाँडाकुडा फुटाउनुलाई विकृती नै भन्छन् । यो परम्परा खासमा खाली गाग्री वा भाँडाकुडा देखाउने मात्र भएको तर, फुटाउने नभएको उनको भनाई छ ।
‘खाली भाँडो देखेपछि बाहिर जानुहुन्न भनेर परम्परा छ । सोही अनुसार चाँगुनारायण नफर्किउन भनेर खाली भाँडाकुडा देखाउने हो, फुटाउने होइन’ राजोपाध्याय भन्छन् ।
बाटो नै यसरी रोकिदिँदा चाँगुनारायण नफर्किउन् भनेर होइन कि अब अगाडी नबढुन्, चाँगुनारायणलाई तलेजु नलैजाउ भनेर बाटो रोकेको जस्तो पो देखियो
आफुहरु खाली खुट्टा हिँडेर आउँदा बाटोमा यसरी माटाका भाँडाकुडा फुटाइदिनाले हिँड्नलाई अप्ठ्यारो हुने र खुट्टामा घाउ चोटपटक लाग्ने सम्भावना नै बढ्ने उनको भनाई छ ।
‘घाउ चोटपटक लाग्ने सम्भावना नै भइहाल्यो । साथमा तलेजु भित्र जाने बाटो नै यसरी रोकिदिँदा चाँगुनारायण नफर्किउन् भनेर होइन कि अब अगाडी नबढुन्, चाँगुनारायणलाई तलेजु नलैजाउ भनेर बाटो रोकेको जस्तो पो देखियो’ पूजारी राजोपाध्यायले भने ।
तलेजुमा विधिवत् पूजा सम्पन्न भएपछि राष्ट्रप्रमुखलाई दर्शन गराउने परम्परा अनुसार चाँगुनारायणको कलश राष्ट्रपति भवन लगी राष्ट्रपतिलाई छायाँदर्शन गराइएको थियो ।
चाँगुनारायणको कलश यात्रा लिच्छविकालीन परम्परा मानिएको छ । तत्कालीन राजा मानदेवको समय (इ.सं. ४६४) भन्दा पनि अघिदेखि यो परम्परा चल्दै आएको मानिन्छ ।
कलश यात्रा विधिवत् सम्पन्न भएमा देशमा अनिकाल नहुने, समयमा वर्षा हुने र देशमा शान्ति सुव्यवस्था कायम हुने धार्मिक विश्वास रहेको छ ।
कलश यात्रा बर्षको दुई पटक हुन्छ । पहिलो जनै पूर्णिमाको ४ दिन अघि अर्थात श्रावण शुक्ल द्वादशी तिथिमा हुन्छ भने दोश्रो पौष शुक्ल पुर्णिमाको दिनमा हुन्छ ।
Categorized in संस्कृति




