चीनमा नेपाली चलचित्रको सम्भावनाबारे अन्तरक्रिया
SamacharDesk – विजयरत्न | २०८३ जेठ १४, बिहिबार
चीनमा नेपाली चलचित्र प्रदर्शन, नेपाल–चीन चलचित्र सहकार्य, फिल्म पर्यटन र चिनियाँ बजारमा नेपाली चलचित्रको सम्भावनाबारे औपचारिक जानकारी गराइएको छ ।
चीनको हुनान प्रान्तमा सम्पन्न २०२६ नेपाल ‘एभरेष्ट फिल्म फेस्टिभल’ को आयोजक संस्थाले आज काठमाडौंमा पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी गराएको हो ।
नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७१औँ वार्षिकोत्सवको अवसर पारेर सन् २०२६ अप्रिल १४ देखि १९ सम्म चीनको हुनान प्रान्तका छाङ्शा र हेङयाङ शहरमा महोत्सव आयोजना गरिएको थियो ।
‘छाया र छविको संगम, हिमालको साझा चमक’ भन्ने मूल नारासहित सम्पन्न महोत्सवलाई आयोजकले नेपाली चलचित्रलाई चिनियाँ दर्शक र बजारसँग जोड्ने ऐतिहासिक पहलका रूपमा व्याख्या गरेको छ ।
महोत्सवमा नेपाली चलचित्र कबड्डी ४, छक्का पञ्जा ५, महाजात्रा, अञ्जिला, तेल–भिसा र होस्टेल ३ प्रदर्शन गरिएको थियो ।
पत्रकार सम्मेलनमा एभरेष्ट फिल्म फेस्टिभलका अध्यक्ष करुण थापाले नेपाली समाज, संस्कृति, युवा मनोविज्ञान, खेलकुद, संघर्ष र मानवीय संवेदनालाई बोकेका यी चलचित्रले चिनियाँ दर्शकमाझ नेपालको कथा र भावनात्मक भूगोल प्रस्तुत गरेको बताए ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले नेपाल र चीनबीचको ऐतिहासिक मित्रतालाई अब चलचित्र, संस्कृति र पर्यटनमार्फत अझ बलियो बनाउन सकिने धारणा राखे ।
महोत्सवमा सहभागी चलचित्र प्रतिनिधिका तर्फबाट ‘महाजात्रा’का निर्माता तथा अभिनेता रवीन्द्र सिंह बानियाँले चीनमा नेपाली चलचित्र प्रदर्शन हुनु नेपाली चलचित्र क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताए ।
पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्ती अनुसार महोत्सवको क्रममा चिनियाँ चलचित्र क्षेत्रका प्रतिनिधि, वितरक, लगानीकर्ता तथा सांस्कृतिक संस्थाहरूसँग नेपाली टोलीको भेटघाट र अन्तर्क्रिया भएको थियो ।
साथै एआइ चलचित्र, प्राविधिक सहकार्य, प्रतिभा विकास, सह–निर्माण र नेपाली चलचित्रको चिनियाँ बजार प्रवेशका विषयमा पनि छलफल भएको जनाइएको छ ।
कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी कृष्ण मल्ल, चलचित्र विकास बोर्डका सदस्यहरू, चलचित्र क्षेत्रका विभिन्न १३ संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधि, महोत्सवमा सहभागी चलचित्रका निर्माता–निर्देशक, कलाकार, सञ्चारकर्मी र चलचित्रकर्मीहरूको उपस्थिति थियो ।
Categorized in पेजथ्री




