arin enterprises

आज गणेश चतुर्थी, चथाः पर्व पनि मनाईंदै

SamacharDesk – Ram Dangol | २०७९ भाद्र १५, बुधबार

आज गणेश चतुर्थि अर्थात शिव तथा पार्वतीका पुत्र भगवान श्री गणेशको जन्मदिन ।

हिन्दुधर्मावलम्वीहरु हरेक शुभकार्य, कर्मकाण्डि प्रक्रिया, पूजाआजा या नविन चिन्तन शुरुवात गर्नुभन्दा अगाडि भगवान गणेशलाई पुजा गर्ने चलन छ ।

आजको दिन काठमाडौं लगायत देशका प्रमुख गणेश मन्दिरहरुमा आज भगवान् गणेशको जन्मोत्सव पुजा आराधना गर्दै मनाईन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ ।

यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ ।

यसदिन गणेशलाई विभिन्न ८४ परिकारबाट बनेको समयबजी तथा फलफूल चढाउने चलन पनि रहेको पाइन्छ । गणेश चतुर्थि नेपाल लगायत भारत, मरीसस, फिजी लगायतका दक्षिण पूर्वी एशियाका देशहरूमा दश दिनसम्म मनाइने गरिन्छ ।

शुक्ल चतुर्थिमा शुरु हुने यो चाड अनन्त चर्तुदशीका दिनमा समापन गर्ने गरिन्छ । यसरी मनाउने क्रममा भगवान गणेशको प्रतिमा स्थापित गरी रंगीन पण्डालहरु लगाएर ४ चरणमा पुजा गरिन्छ ।

प्राणप्रतिष्ठा अर्थात भगवानको प्रतिमा स्थापित गर्ने, सादासोपचरा अर्थात सोह्र तरिकाले भगवान गणेशको अनुष्ठान गर्ने, उत्तरपुजा अर्थात प्रतिमालाई एकठाउँबाट अर्को ठाँउ लैजान तैयार गर्ने अनि गणपति विसर्जन अर्थात प्रतिमालाई नदी, खोला अथवा सफा जलासयमा मा बिसर्जन गर्ने क्रमहरु हुन्छन् ।

यसरी शुरुमा स्थापित गरेको प्रतिमालाई अन्तमा लगेर औपचारीक रुपमा खोलामा बिसर्जन गरेपश्चात् यस पर्वको समापन भएको मानिन्छ ।

नेपालमा पनि २०६५ देखि यस पर्वका अवसरमा चतुर्थीको भोलिपल्ट राजधानी लगायत मुख्य शहरमा गणेश रथयात्रा पनि सुरु भएको छ ।

मङ्गल चतुर्थीसमेत भनिने आजका दिन नेवार समुदायले आजको दिनलाई चथा पर्वका रूपमा मनाउँछन् । यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन रहेको छ ।

गणेश चतुर्थीको अवसरमा नेवार समुदायले घर चोख्याएर साँझ परिवारका सबै सदस्य बसेर गणेश र चन्द्रमालाई जीवनमा चोर दोष कहिल्यै नलागोस भन्ने कामनासहित पूजा गर्दछन ।

भगवान गणेशको जन्म दिन समेत मानिएको चतुर्थीको साँझ कौशी वा झ्यालमा चथा गणेश र चन्द्रमाको पूजा गर्ने परम्परा छ । गणेश र चन्द्रमाको पूजा गरे जीवनमा  चोर दोष नलाग्ने विश्वास छ । 

चतुर्थीको दिन पूजा गर्दा चथा गणेशको तस्बिरलाई पला लप्ते ९कमलको पात० वा जेला लप्ते (हल्दीको पात जस्तो)मा राखेर दुबो, मुला र लडडु, नैवेद्य, खाइसी, अदुवाको बोट, काँक्रो, भुटेको आरुको बीऊ, नासपाती, केरा, स्याउ, अनार, अम्वा, हाँडे ओखर, मसला, मकै, भटमास, गहुँ, केराउ, चना, बकुल्ला र बदाम भुटेको गेडागुडी चढाइन्छ ।

यसरी विधिवतरुपमा पूजा सकेपछि परिवारका सबै सदस्य प्रसादको रुपमा गणेश र चन्द्रमालाई चढाएको फलफुल तथा गेडागुडी खाने चलन छ ।

आजको दिन चथा गणेशलाई विभिन्न पकवानसँगै विषेशगरी दुवो, लड्डु र मुला चढाउँदा गणेश खुशी भई जीवनमा चिताएको मनोकामना पूरा हुने विश्वास छ ।

Categorized in संस्कृति