arin enterprises

चोर दोषबाट मुक्त हुन चथाः पर्व मनाईंदै

SamacharDesk – राम डंगोल | २०८० आश्विन २, मंगलबार

हरेक वर्षको भाद्र शुक्ल चर्तुर्थीका दिन साँझ चन्द्रमालाई पूजा गरेर चथाः (गणेश चर्तुर्थी) पर्व मनाईंदैछ ।

तिथिमा भएको अलमलका कारण नेवार समुदायहरुले हिजो पनि चथाः पर्व मनाएका छन् ।

यो पर्व पात्रो अनुसार हिजो दिउँसो पछि चर्तुर्थी हुने भएकोले हिजो बेलुका नै मनाउनुपर्ने एक समूहको कथन छ भने अर्काे समूहको परम्परागत रुपमा हरितालिका तीजको भोलिपल्ट चथाः पर्व मनाउने चलन रहेको छ ।

नेवारहरुले चथाः पर्वलाई सानो दशैंकै रुपमा मनाउने चलन छ । चथा राम्रोसँग मनाउन सकियो भने दशैं पनि राम्रो हुने धार्मिक मान्यता रहेको छ ।

त्यसैले चथा पर्वका दिन नेवार समुदायका मानिसहरू धुमधामसँग मनाउने गर्दछन् । आज साँझ चन्द्रमालाई पूजा गरेर यो पर्व मनाउने गरिन्छ ।

चन्द्रमालाई आज चोर देवताका रुपमा पूजा गर्ने चलन छ । कमलको फूल, चथाः फूल, समय्बजी, फलफूल, अदुवाको बोटलगायत राखेर चन्द्रमाको पूजा गर्ने चलन छ । यस दिन चन्द्रमाको दर्शन गरे चोर दोष नलाग्ने कथन रहेको छ ।

त्यही भएर चोर दोषबाट मुक्त हुनलाई टोलटोलमा बेलुका कुकुर भुकेपछि कौसीमा लिटपोट गरेर कमलको पातमा चथाः फुल, अदुवाको बोट, आरुको बियाँलगायत भुटेको गेडागुडी राखेर चन्द्रमालाई पूजा गर्ने प्रचलन छ ।

आजको दिन पानी प¥यो भने दशैंको बेला पनि पानी पर्ने जनविश्वास रहेको छ । त्यस्तै चथाः पर्व जुन बार प¥यो त्यही बार दशैंको महानवमीको दिन पर्ने मान्यता रहेको छ ।

आजको दिन गणेश भगवानको जन्मदिनको रुपमा गणेश चर्तुर्थी मनाउने गरिन्छ । आजको दिन अशोक विनायक सूर्यविनायक, कार्यविनायक, चन्द्रविनायक, जलविनायक, कमलादी गणेशस्थान, चन्द्रविनायक लगायतका देशभरका गणेश मन्दिरहरुमा विशेष पूजाआजा गरिरहेका छन् ।

चथाः पर्वको किंवदन्ती अनुसार परापूर्व कालमा स्वर्गलोकमा एकदिन देवताहरूको सभा भइरहेको थियो । त्यस सभामा भगवान गणेश पनि सहभागी थिए । सभाका कसैले केही भनेन् तर चन्द्रमाले भने भगवान गणेशको शरीरलाई लिएर खिसी गरे, अपमान गरे ।

आफू यसरी अपमानित हुनुपरेका कारण गणेशले चन्द्रमालाई सधै अन्धकारमा बस्न परोस् र तिम्रो मुख हेर्नेहरू सबै चोरलाई मिथ्या दोष लागोस् भनेर श्राप दिए ।

भगवान गणेशबाट श्रापित चन्द्रमा त्यस दिनदेखि अन्धकारमा बसिरहे । उनको अनुहार कसैले पनि हेर्दा नि हेरेनन् । उनलाई आफूले गरेको गल्तीप्रति ठूलो पश्चाताप हुन थाल्यो ।

केही समयपछि चन्द्रमा दुवोको माला, लड्डु, फलफूल लिएर भगवान गणेशको शरणमा गए । भगवान गणेश कहाँ गएर पूजा, आराधना गरी क्षमा मागे ।

भगवान गणेश प्रसन्न भई चन्द्रमालाई चौध दिनसम्म चन्द्रमाको तेज कम हुने तर पूर्णिमाको दिन निकै तेजिलो हुने वरदान दिए ।

साथै आफूले दिएको श्रापको लाज हुने गरी वर्षभरिमा भाद्र शुक्ल चौथीको एक दिन मात्र चन्द्रमाको मुख हेर्नेलाई चोर दोष लाग्ने बताए ।

त्यसैले त्यो दिन चन्द्रमालाई हेर्नु हुन्न भन्ने चलन चलेको हो भन्ने जनधारणा रहेको छ । यो दिन कसैमाथि पनि चोर दोष नलागोस् भनेर भगवान गणेश र चन्द्रमाको पूजा गर्ने परम्परा चल्दै आएको हो भन्ने मान्यता रहेको छ ।

Categorized in संस्कृति