“चतुरासीति सहस्स पुप्फ” पूजा सम्पन्न
SamacharDesk | २०७९ कार्तिक २२, मंगलबार

पहिलो पटक नेपालमा दुर्लभ “चतुरासीति सहस्स पुप्फ” पूजा सम्पन्न भएको छ ।
विश्व सम्पदा स्वयम्भूमहाचैत्यमा आज बौद्ध परम्परा अनुसार ८४ हजार थान सयपत्री फूलको माला चढाएर पूजा गरिएको हो ।
सकिमिला पुन्हि, कात्तिक पूर्णिमाको अवसरमा स्वयम्भू महाचैत्य र महाचैत्य परिसरमा रहेका अन्य मन्दिर, गुम्बा, चैत्य, देवदेवीको मुर्तिमा ८४ हजार सयपत्री फूलको माला चढाइएको हो ।
नमूना बुद्ध विहार, विष्णुमतिले आयोजना गरेको पूजामा अखिल नेपाल भिक्षु महासंघ तर्फबाट ८४ प्रकारका व्यञ्जन सहित बुद्ध पूजा, पञ्चशील प्रदान र धम्मदेशना गरिएको थियो ।
तथागत भगवान बुद्धबाट ८४ हजार धम्मस्खन्ध देशना गर्नु भएका कारण ८४ हजार फूल वा फूलको मालासहित बुद्ध पूजा गर्ने परम्परा रहेको छ । कोरोना र डेंगी महामारी अन्त्यका लागि विश्व शान्तिको कामना गर्दे सामूहिक परित्राण पाठ समेत गरिएको थियो ।
आजै तथागत बुद्धको मुख्य शिष्य सारिपुत्रको परिनिर्वाण दिवस पनि नेपाल लगायत विभिन्न बौद्ध देशहरुमा मनाइएको छ ।
