arin enterprises

छठको तेश्रो दिन, आज अस्ताउँदो सुर्यलाई अर्घ दिइने

SamacharDesk – बिकाश | २०७७ मङ्सिर ५, शुक्रबार

आज कार्तिक शुक्ल षष्ठी, छठ पर्वको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने छठ पर्वको आज तेश्रो दिन साँझमा सुर्यलाई पूजा आराधना गरी अर्घ दिईँदैछ ।

आज अस्ताउँदो सूर्यलाई अर्घ दिइने हो भने भोलि उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व सम्पन्न हुनेछ ।

यस वर्षको छठ पर्व गत बुधबारबाट शुरु भएको थियो ।

यस पर्वमा कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक मात्र खाने गरिन्छ ।

त्यसैगरी दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर षष्ठी मातालाई चढाई त्यहि खीर व्रतालुले प्रसादस्वरुप खाने गरिन्छ । यो खीरलाई खरना भनिन्छ । पर्वको दोश्रो दिन नुन नखाई एक छाक फलाहार मात्र गरिन्छ ।

छठको मुख्य दिनको रुपमा लिइने कार्तिक शुक्ल षष्ठीमा निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ । यो दिनमा रातभर जाग्राम बसी भोलिपल्ट कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने योसँगै पर्वको समापन पनि हुने गर्दछ ।

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइने जनविश्वास रहेको छ । कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आरधना गरी अर्घ दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वास पनि समाजमा रहेको छ ।

आर्थिक अभाव भएका मानिसहरु भिक्षा मागेर भए पनि यो पर्व मनाउने गर्छन् ।

अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत बसेपछि यस पर्वको शुरुवात भएको सुर्य पुराणमा उल्लेख गरिएको छ ।

विगतमा धुमाधामका साथ मनाइने यो पर्व यस वर्ष कोरोना महामारीका कारण साधारण किसिमले मात्र मनाइएको छ ।

जलाशयतिर मनाईने यस पर्वको लागि तराईतिर केहीले आफ्नै घरमा चारकुने खाल्डो खनेर त्यहिँ पानी जम्मा गरी घरमै पर्वको विधि पुरा गरेका छन् ।

यस वर्ष केन्द्र सरकारले छठ पर्वको सार्वजनिक विदा दिएको छैन भने प्रदेश २ सरकारले शुक्रबार र शनिबार बिदा घोषणा गरेको छ ।

Categorized in संस्कृति