फेरीयो काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत
SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ पौष ८, बिहिबार

काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत फेरीएको छ ।
महानगरका प्रमुख प्रशासकिय अधिकृतमा मधेसी आयोगका लोकनाथ पौडेल ल्याइएको छ । त्यस्तै महानगरका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत राजेश्वर ज्ञवालीलाई भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा तानिएको छ ।
यसको साथै नेपाल सरकारले १५ सहसचिवको पनि सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले बुधवार मन्त्री स्तरीय निर्णयबाट सङ्घ, प्रदेश तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको सरुवा गरेका हुन् ।
सरुवा हुने अन्य सहसचिवहरूमा मन्त्रालयको अतिरिक्त समूहमा रहेका देवराज जोशी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेका छन् ।
त्यसैगरी आदिवासी जनजाति आयोगका भोला दाहाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तानिएका छन् भने आयोगका नीराजन घिमिरे दलित आयोगमा सरुवा भएका छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रशासन महाशाखा प्रमुख राजीव पोखरेल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पुग्दा उनको ठाउँमा सोही मन्त्रालयको अतिरिक्तमा रहेका रघुराम विष्टलाई आएका छन् ।
त्यस्तै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणकी यमुना प्रधानलाई सङ्घीय सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा र प्रदेश नम्बर १ को सामाजिक मन्त्रालयका सचिव कमल भट्टराईलाई अर्थ मन्त्रालयमा तानिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव शङ्कर नेपाल प्राकृतिक स्रोत तथा वित्त आयोगमा, कलैया उपमहानगरपालिकाका तीर्थ चिलवाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा, गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव ध्रुव गैँडा बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालय र नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनी बागमती प्रदेशको उद्योग मन्त्रालयमा सरुवा भएका छन् ।
यस फेरबदलको औपचारिक प्रकृया भने बाँकि रहेको बताइएको छ । औपचारिक रुपमा प्रकृया पूरा भएपछि सबै आआफ्नो कार्यक्षेत्रमा खटिने स्रोतले बताएको छ ।
Categorized in राष्ट्रिय