कान्तिमा बालबालिका मानसिक स्वास्थ्य सेवा केन्द्र शुरु
SamacharDesk – बिकाश | २०७७ पौष २२, बुधबार

कान्ति बाल अस्पतालमा बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य सेवा केन्द्र भवनको शुरुवात गरिएको छ ।
अस्पतालको ५९ औं वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले भवनको उद्घाटन गर्नुभयो ।
सो अवसरमा मन्त्री त्रिपाठीले सरकार अहिले कोभिडविरुद्धको खोप ल्याउनका लागि केन्द्रित रहेको बताउँदै स्वास्थ्य क्षेत्रमा संलग्न सेवाकर्मीको उत्साहलाई कायम राख्न तत्पर रहेको उल्लेख गर्नुभयो । स्वास्थ्य जस्तो महत्वपूर्ण सेवा आम नागरिकलाई सरल र सहज रुपमा पुर्याउनका लागि सरकार लागिपरेको दावी मन्त्री त्रिपाठीले गर्नुभयो ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बालबालिकाको स्वास्थ्य र नगरबासीको हितका लागि नगरपालिकाले सँधै सहयोग गर्दै आएको स्मरण गर्दै आउने दिनमा पनि नगरबासीको हितको क्षेत्रमा लगानी गर्न तैयार रहेको बताउनुभयो ।
कान्ति बाल अस्पतालको प्रांगणमा निर्माण गरिएको केन्द्र भवन, कान्ति बाल अस्पतालसँगको सहकार्यमा सिविन नेपालले निर्माण गरेको हो । फोरुट नर्वे, नर्वेली मनोचिकित्सक संघ र टच आयरल्याण्डको आर्थिक सहयोगमा भवन निर्माण भएको हो ।
कार्यक्रममा अस्पतालका निर्देशक डा. कृष्ण प्रसाद पौडेलले बालबालिकाका लागि निर्मित नेपालकै सबैभन्दा पहिलो र ठूलो अस्पताल संचालनका लागि सरकारको तर्फबाट प्रत्यक्ष रुपमा आर्थिक र प्राविधिक सहयोगको अपेक्षा रहेको बताए ।
सिविन नेपालकी कार्यकारी निर्देशक सुम्निमा तुलाधरले २०७२ सालको भूकम्पपछि शुरु भएको बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य विभागले आफ्नै भवनमा वहिरंग सेवा शुरु गरेको भन्दै खुसी व्यक्त गर्नुभयो ।
तुलाधरले कोभिड १९ को संक्रमणको परिस्थितिमा विभागका प्रमुख डाक्टर अरुण कुँवरको नेतृत्वमा मुलुकका २५ हजार भन्दा बढी बालबालिका र वयस्कलाई अनलाइनमार्फत तनाव ब्यवस्थापनबारे सेवा दिएको जानकारी गराउनुभयो ।
२०७२ सालको भुइचालो पछि बालबालिकामा परेको मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्ने उद्देश्यले नेपालको एकमात्र सरकारी स्तरबाट संचालित कान्ति बाल अस्पतालमा बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य विभाग खडा गरेर सेवा थालिएको थियो ।
त्यसको पाँच बर्ष पछि अस्पताल परिसरमै विभागको छुट्टै भवन निर्माण गरी बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्य सेवा विस्तार गरिएको हो ।
Categorized in समाज