arin enterprises

संस्कृति पुस्तान्तरणको लागि बाल दिवस मेला

SamacharDesk – बिराज | २०८१ भाद्र २५, मंगलबार

‘हामी फाडर्ज डे, मडर्ज डे धुमधामका साथ मनाउँछौं, त्यहि फाडर्ज डे मडर्ज डेलाई उत्सवको रुप दिने बालबालिकाको बाल दिवस मनाउँछौं त ?’ जाउलाखेलस्थित लभ्ली होम प्रिस्कूलकी संस्थापक माहेश्वरी अमात्यले प्रश्न गरिन् ।

‘बालबालिकाको बाल्यकाललाई उत्सवमय बनाउन सक्यौं भने उनीहरुको भविष्य उज्वल बनाउन टेवा पुग्छ, त्यसैले बाल दिवस पनि धुमधामका साथ किन नमनाउने त ?’ लभ्ली होमकी संस्थापक अमात्यले थपिन् ।

आज मंगलबार लभ्ली होमले ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थापक अमात्यले यस्तो भनेकी हुन् ।

आउँदो भाद्र २९ गते राष्ट्रिय बाल दिवसको अवसरमा लभ्ली होमले ललितपुर जाउलाखेलस्थित खेल मैदानमा ‘बाल दिवस मेला २०८१’ को आयोजना गर्न लागेको छ ।

सोही मेलाको बारे जानकारी दिन लभ्ली होमले आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थापक अमात्यले यस वर्षको बाल दिवस उत्सवको रुपमा मनाउन मेलाको आयोजना गरेको बताइन् ।

विभिन्न सांस्कृतिक कार्यक्रम र विद्यार्थीहरुको लागि खेल गतिविधिसहित मेलाको आयोजना गर्न लागेको जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै संस्थापक अमात्यले खेल, सांस्कृतिक र विभिन्न गतिविधिहरुसहित बालबालिकाको बाल्यकाललाई अभिभावकहरुसँग जोड्दै मेलाको आयोजना गर्न लागेको बताइन् ।

‘बालबालिकाको बालापनसँग जोड्दै अभिभावकलाई आफ्नो बाल्यकालको अनुभूति गराउन चाहन्छौं । विना कुनै वाधा अवरोध बालबालिकालाई स्वतन्त्र रुपमा मनोरन्जनको साथमा सिकाइको वातावरण दिन चाहन्छौं, जसले बाल दिवसलाई एउटा उत्सवको रुप दिओस्’ अमात्यको भनाई हो ।

कार्यक्रममा अन्य मनोरन्जनात्मक प्रस्तुतिहरुको साथै सिकाइ र पुस्तान्तरणको माध्यमको रुपमा विद्यार्थीहरुबाट लाखेय्, पुलुकिसिको प्रस्तुति समेत रहने जानकारी लभ्ली होमका डान्स कोअर्डिनेटर सुजन बज्राचार्यले भने ।

सोही पत्रकार सम्मेलनमा यल लाय्कू मिप्वाः लाखय् पुचःका संरक्षक उत्तम रत्न शाक्यले लाखेय् लगायतका स्थानीय संस्कृतिसँग जोडिएका मूर्त र अमूर्त सम्पदालाई यसको मूल्य मान्यता कायम राख्दै विद्यार्थीहरुमार्फत पुस्तान्तरण हुनु राम्रो विषय भएको विचार राखे ।

‘विद्यार्थीहरु लाखय् नाच नाच्छन् भने उनीहरुले लाखयबारे थाहा पाउँछन्, सिक्छन् । जथाभावी ठाउँमा नचाउँदै दुरुपयोग पो हुनु भएन, भविष्यका कर्णधारहरुलाई संस्कृति सिकाउनु त राम्रो कुरा हो’ संरक्षक शाक्यले भने ।

कार्यक्रममा विभिन्न सांस्कृतिक गतिविधिको साथमा कार्यक्रमको मुख्य आकर्षणको रुपमा निशा देसार र रोजमान महर्जनको प्रस्तुति रहने जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो ।

साथमा विभिन्न खाद्य परिकारका स्टलहरु, खेल गतिविधिहरुसहित विहानको ११ बजेदेखि साँझको ४ बजेसम्म मेलाको आयोजना हुने जानकारी आयोजकले दिएको छ ।

मेलामा स्कूलका विद्यार्थी, अभिभावक, अन्य स्कूल, प्रिस्कूल, मन्टेश्वरीका प्रतिनिधि, विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिसमेत गरी पाँच हजार बढिले मेलाको अवलोकन गर्ने अपेक्षा आयोजकको रहेको छ ।

Categorized in समाज