arin enterprises

चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै

SamacharDesk – राम डंगोल | २०७८ चैत्र ११, शुक्रबार

नेपालको तीन दिने भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यी आज साँझ नेपाल आउँदै हुनुहुन्छ । दक्षिण एशियाली देशहरुको भ्रमणका क्रममा वाङ हिजो नयाँदिल्ली पुग्नु भएको छ । लद्दाख इलाकामा सीमा विवाद सुरु भएपछि चिनियाँ नेताको यो पहिलो भारत भ्रमण हो ।

नेपाल बसाइको क्रममा चिनियाँ विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

भोलि शनिबार नेपाल र चीनबीच दुई पक्षीय वार्ता हुने छ । वाङको भ्रमणका क्रममा ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ अन्तर्गतका सहयोग परियोजनाहरुको कार्यान्वयन सम्बन्धि सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार कम्तिमा १० वटा समझदारी तथा सम्झौतामा हस्ताक्षर गर्ने तयारी रहेको छ ।

नुवाकोटको रातमाटेदेखि रसुवागढी हुदै केरुङसम्मको प्रसारण लानइन विस्तार, चीनको आर्थिक तथा प्राविधिक सहयोगमा केरुङ–काठमाडौं रेल वे को संभाब्यता अध्ययन र २०७६ सालमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा भएको ५६ अर्ब रुपैयाँ बराबरको सहयोग सम्झौताको कार्यान्वयनको समझदारी हुने छ ।

यस्तै चिनियाँ विदेशमन्त्री वाङले भर्चुअल माध्यमबाट पोखरा विमानस्थलको उद्घाट्न पनि गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी चितवनको भरतपुर क्यान्सर अस्पताललाई आर्थिक तथा प्राबिधिक सहयोग, मदन भण्डारी पोलिटेक्निकल विश्वविद्यालयको निर्माण, भक्तपुरमा बीर अस्पतालको नयाँ भवन निर्माण र हुम्लामा सुख्खा बन्दरगाह निर्माणको सम्झौता पनि हुनसक्ने परराष्ट्र स्रोतले जनाएको छ ।

नेपालबाट चीनमा हाइब्रीड घाँस निर्यात, तातोपानी तथा रसुवागढी नाका निर्यातका लागि खुला गर्ने प्रस्ताव पनि नेपालले राख्ने बुझिएको छ ।

नेपाली गाडीहरुलाई तातोपानी र केरुङ नाकाबाट प्रवेश गर्न दिन पनि नेपालले आग्रह गर्ने बुझिएको छ । यस्तै चीनले प्रस्ताव गरे अनुसार रसुवा, काभ्रेको पाँचखाल, नुवाकोट र पोखरामा संयुक्त आर्थिक क्षेत्र स्थापनाको प्रस्तावमा पनि हस्ताक्षर हुन सक्ने छ ।

संयुक्त सीमा निरीक्षण र ब्यापार तथा वाणिज्य संयुक्त कार्यदललाई सक्रिय बनाउने विषयमा पनि छलफल हुने छ । शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि नेपाल आउने वाङ नै पहिलो विशिष्ट पाहुना हुनुहुन्छ ।

Categorized in राष्ट्रिय