arin enterprises

भारतीय टोली फिर्ता, हराएको चुम्बक भेटियो

SamacharDesk | २०८१ श्रावण १४, सोमबार

त्रिशूली नदीमा यात्रुसहित हराइरहेका दुई वटा बस खोज्न भारतबाट आएका आइतबार विदाई भएका छन् ।

एक हप्ताको समय लिएर भारतबाट चितवन आइपुगेको राष्ट्रिय आपदा मोचन बलका १२ सदस्यको टोली आफ्नो अवधि पूरा भएकाले हिजो नै भारत फर्केको हो ।

नेपाली र भारतीय गोताखोर तथा प्राविधिकको प्रयास दुर्घटना भएको १७ औँ दिनसम्म पनि असफल भएपछि बस भेटिने सम्भावना क्षीण बन्दै गएको छ ।

नेपाली र भारतीय टोलीको अथक प्रयासबाट अहिलेसम्म २५ जनाको शव फेला पारेको छ ।  गत असार २८ गते भरतपुर महानगरपालिका–२९, सिमलतालमा आएको पहिरोमा ६५ जना यात्रुसहित दुई वटा बस त्रिशूली नदीमा बेपत्ता भएका थिए ।

यसैबीच बस खोज्न प्रयोग भारतीय टोलीले ल्याएको चुम्बक भने फेला परेको छ । त्रिशूली नदीले बगाउँदा हराएको उक्त चुम्बक काभ्रेघाटमा भेटिएको हो ।

भारतीय टोलीले हराएको बसको खोजीका लागि भारतबाट १४ र १९ किलोका दुईवटा चुम्बक ल्याएकोमा एउटा चुम्बक हराएको थियो ।

भारतीय टोली स्वदेश फर्किने भए पनि नेपाली उद्धार टोलीले भने खोजी जारी नै राखेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक श्री राम भण्डारीले जानकारी दिनुभएको छ ।

Categorized in राष्ट्रिय