निलम्बित प्रधान्यायाधीशसँग जवाफ माग
SamacharDesk | २०७९ भाद्र १५, बुधबार

महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरासँग जवाफ लिन सुरु गरेको छ ।
महाभियोग सिफारिस समितिले बुधबार जबरालाई सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा जवाफ लिन सुरु गरेको हो ।
जबराले आफूविरुद्धको महाभियोग निष्क्रिय भइसकेको बयान दिनुभएको छ । समितिमा उपस्थित भएर जबराले आफूविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय भइसकेको दावी गर्नुभयो ।
महाभियोग प्रस्ताव निष्क्रिय भइसकेपनि आफू संसद्को सम्मानका लागि नागरिकका हिसाबले उपस्थित भएको उहाँको भनाइ छ ।
आफूमाथि लागेको अभियोको प्रस्ताव संविधान र नियमावली संसद्ले पारित नगरेकाले समितिबाटै आफूले न्याय पाउनुपर्ने उहाँको जिकिर छ ।
यसअघि बन्द कोठाभित्र जवाफ लिने कि खुला भन्नेमा महाभियोग सिफारिस समितिमा बहस चलेको थियो । जसका कारण जवाफ लिन ढिलाइ भएको थियो ।
जबरालाई सोध्नका लागि ४३ वटा प्रश्न तयार पारिएकाको समितिले जनाएको छ । समितिलाई जवाफ दिने क्रममा जबराले अदालतमा गुटबन्दी हुनुको कारण आफूपछिका न्यायाधीश दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउने महत्वाकांक्षा रहेको भनाइ छ ।
कार्कीलाई प्रधानन्यायाधीश बनाउनुपर्ने प्रस्ताव आफूकहाँ आएको र त्यसलाई अस्वीकार गरेको जबराको भनाइ थियो । त्यसरी न्यायपालिका चल्दैन भनेर अस्वीकार गरेको जबराले बयानमा उल्लेख गर्नुभएको छ ।
कार्कीलाई प्रधानन्यायाधीश बनाउने र आफूमाथि महाभियोग लगाउने कार्य न्यायपालिकालाई कमजोर पार्ने खेल भएको जबराको तर्क छ ।
Categorized in राजनीति