arin enterprises

हैजाको लक्ष्ण र यसको रोकथाम

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ आषाढ १४, मंगलबार

 यस पालि काठमाडौं उपत्यकामा कोभिड–१९ को प्रकोप भने त्यत्ति छैन भन्दा हुन्छ ।

कोभिड १९ को प्रकोपबाट केही राहत पाएकै महसूस गरिरहेकै बेला उपत्यकामा अहिले भने हैजाको प्रकोप देखिएको छ ।

हाल सम्म उपत्यकाका पाँच स्थानमा हैजाका विरामी फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हालसम्म काठमाडौंमा बागबजारमा फेला परेका हैजाका दुई जना विरामीहरु सिकिस्त नै छन् भने उनीहरुको आइसीयुमै भर्ना गरेर उपचार भइरहेको छ ।

त्यसबाहेक काठमाडांैको डिल्लीबजार, बोहोराटार, कपन र ललितपुरको सानेपामा एक–एकजना बिरामी भेटिएका छन् ।

हैजाका बिरामी फेला परेपछि आम नागरिकबीच यो रोगले प्रकोपको रुप पो लिने हो कि भन्ने त्रास देखिएको छ । तर चिकित्सकहरूले भने अहिलै नै महामारीको अवस्था नरहेको बताएका छन् ।

के हो हैजा ?

हैजा भिब्रिओ कोलरी नामक ब्याक्टेरियाबाट हुने गम्भीर खालको सरुवा रोग हो । हैजामा रोग लागेको व्यक्तिलाई झाडापखाला हुने गर्दछ ।

अनुसन्धानकर्ताहरूका अनुसार विश्वभरिमा बर्षेनी १३ देखि ४० लाख मानिसलाई हैजा हुने गरेको छ । हैजा भएका ८० प्रतिशत बिरामीको पुनर्जलीय झोल प्रयोग गरेर सफलतापूर्वक उपचार हुने गरेको देखिएको छ ।

नेपालमा यस किसिमका पुनर्जलीय झोललाई जीवनजल भन्ने गरिन्छ । हैजाका कारण बर्षेनी २१ हजारदेखि १ लाख ४३ हजार जना मानिसको मृत्यु हुने आंकलन गरिएको छ ।

गम्भीर खालको हैजा लाग्दा भने तत्काल एन्टिबायोटिक र नसाबाट स्लाइन दिएर उपचार गर्नुपर्छ ।

लक्ष्णहरु के के हुन् ?

सामन्यतया भिब्रियो कोलेरा नामक ब्याक्टेरियाले संक्रमण गरेको १ देखि २ दिन भित्रमा हैजाका लक्षणहरु देखिन थाल्दछ ।

हैजा लागेपछि लगातार पातलो चौलानी पानी जस्तो दिसा हुने, बान्ता हुने, तिर्खा लाग्ने जस्ता लक्षणहरु देखिने गर्छन । जसका कारण शरिरमा पानीको मात्रा कम हुँदै जान्छ ।

यसको साथमा शरीमा इलेक्ट्रोलाइट्सको मात्रा घट्ने, आँखा चिल्लो देखिने, अनुहार फुस्रो तथा फुस्स परेको देखिने, रक्तचाप घट्ने, नाडीमा धड्कन मधुरो हुने, तापक्रम घट्ने, श्वासप्रश्वासको गति बढ्ने पनि गर्दछ ।

यी लक्षणहरुका साथमा कमजोरी महसुस हुने, पेट र खुट्टाका मांसपेशी बाउँडिने, रिङ्गटा लाग्ने र बिरामी अचेतसमेत भएमा तुरन्त चिकित्सककोमा गइहाल्नु राम्रो हुनेछ ।

समयमा उपचार गरिएन भने पीडित व्यक्तिको केही घण्टामै मृत्यु समेत हुनसक्छ । तर सामन्यतया पेट दुख्ने र ज्वरो आउने भने हुँदैन ।

कसरी हुन्छ संक्रमण ?

हैजा एक पानीजन्य रोग हो । मुलतः दूषित पानी पिउने मानिसमा यो रोगको संक्रमण हुन सक्छ ।

साथै दूषित पानी प्रयोग भएको खाद्य पदार्थबाट पनि यो रोग लाग्न सक्छ । हैजाको जीवाणु शरिरमा पसेपछि सानो आन्द्रामा आक्रमण गर्छ ।

 

रोकथामका उपायहरु के के हुन् ?

  • वातावरण तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने
  • फोहोरमैलाको उचित व्यवस्थापन गर्ने
  • दिसापिसाब चर्पीमा मात्र गर्ने
  • चर्पी प्रयोग गरेपछि र खाना खानु अघि साबुन पानीले राम्ररी हात धुने
  • सागसब्जी तथा फलफूल राम्ररी पखालेर मात्र खाने
  • पानी उमालेर पिउनाले हैजा संक्रमण हुनबाट बच्न सकिन्छ ।

उपचार कसरी गर्ने ?

हैजा लागेका बिरामीमा मुख्य गरी पानी र इलेक्ट्रोलाइट्सको कमी हुने भएकोले शरीरमा तरल पदार्थ बढाउन विशेष ध्यान दिनुपर्छ ।

जसका लागि सामान्य अवस्थामा जीवनजल पानी खुवाउने र आवश्यक परेमा स्लाइन दिनुपर्छ ।

यस्तै ल्याब रिपोर्टको आधारमा र चिकित्सकको सल्लाह अनुसार आवश्यक एन्टिबायोटिकहरु पनि चलाउनु पर्छ ।

Categorized in समाज