काठमाडौंमा फोहोर उठ्न थाल्यो
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ चैत्र २०, शुक्रबार

काठमाडौँ महानगरपालिका र ल्याण्डफिल्ड साइटका प्रभावित स्थानीयसहित जनप्रतिनिधिबिच आज भएकोे छलफलमा सहमति जुटेपछि काठमाडौंका चोकहरुमा थुप्रिएको फोहोर उठ्न थालेको छ ।
फोहोर विसर्जनमा अवरोध भएपछि आज काठमाडौँ महानगरपालिकामा भएको छलफलमा उनीहरुका सकारात्मक माग पूरा गर्ने प्रतिवद्धतापछि फोहोर विसर्जनमा भइरहेको अवरोध खोल्न उनीहरु सहमत भएका छन् ।
छलफलका क्रममा उनीहरुका माग सम्वोधनका लागि काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले प्रभावित क्षेत्रका वासिन्दाको शिक्षा र स्वास्थ क्षेत्रका लागि राखेका माग सम्वोधन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । स्वास्थ्य लगायत केही मागका बारेमा थप छलफल गरी व्यवस्थित ढंगले अघि बढ्न सकिने पनि शाक्यले बताउनुभयो ।
धुनिवेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले काठमाडौँले पुर्वाधार विकासका लागि दिने भनेको सहयोगको प्रशंसा गर्नुभयो ।
ककनी गाउँपालिका वडा–३ का अध्यक्ष घननाथ बजगाईँले फोहोर विसर्जनको अवरोध हटेको जानकारी दिनुभयो ।
‘प्रभावित क्षेत्रका ५१ जना शिक्षकको अस्थायी दरबन्दीका लागि काठमाडौँ महानगरपालिकाले तत्कालका लागि खर्च व्यहोर्ने, जग्गा अधिग्रहणका सन्दर्भमा विज्ञ टोली बनाएर प्रक्रिया अघि बढाउने लगायतका सहमतिपछि फोहोर विसर्जनको अवरोध हटेको छ,’ बजगाईले भन्नुभयो ।
काठमाडौँ महानगरपालिका वातावरण विभागका प्रमुख हरि श्रेष्ठले नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेसी गाउँपालिकाको पुर्वाधार विकासका लागि आगामी आर्थिक वर्षको बजेटमा रु तीन–तीन करोड व्यवस्था गर्ने, धुनीवेसी नगरपालिकालाई एम्बुलेन्स खरिद गरिदिनेलगायतका विषयमा सहमति भएको जानकारी दिनुभयो ।
फोहोर मैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीय बसिन्दाहरुले विभिन्न माग राख्दै चैत १३ गतेदेखि सडकमा विरोध प्रदर्शन गरी फोहोर बिसर्जनमा अवरोध गर्दै आएका थिए ।
उनीहरुको मागको सम्वन्धमा दुई दिन अघि पनि काठमाडौंको राष्ट्रिय सभागृहमा छलफल भएको थियो । छलफललाई अन्तिम रुप दिँदै निर्णयमै पुग्ने भन्दै हिजो बसेको वैठक भने महानगर प्रमुख शाक्यको आँखामा समस्या भएपछि निर्णयसम्म नपुगीकनै छलफल टुङ्गिएको थियो ।
Categorized in स्थानीय