अस्पताल जान नपाएकाहरु स्वास्थ्य शिविरबाट लाभान्वित
SamacharDesk – बिराज | २०७७ फाल्गुण ३, सोमबार

ललितपुर महानगरपालिका १६ वडाले स्वास्थ्य शिविरलाई निरन्तरता दिँदै ललितपुरको वालिफल टोलमा तेश्रो शिविरको आयोजना गरेको छ ।
ललितपुर महानगरपालिका १६ वडाले अरनिको समाजसँगको सहकार्यमा संचालन गरेको शिविरमा बाल, छाला तथा आँखा रोगको परीक्षण गरिएको थियो ।
शिविरबाट १ सय १४ जना लाभान्वित भएको समाजका महासचिव डा. सुशील प्रजापतिले जानकारी दिनुभयो । तीमध्ये ८ जना बालबालिका थिए भने ४४ जनाले आँखा र ६० जनाले छाला रोगको परीक्षण गराएका थिए ।
तीन जनामा मोतियाबिन्दु देखिएकोमा वडाको सहयोगमा कीर्तिपुर अस्पतालले सस्तो मूल्यमा शल्यक्रिया गर्ने व्यवस्था मिलाइएको पनि महासचिव डा. प्रजापतिको भनाई रहेको छ ।
शिविरमा औषधी पनि निशुल्क वितरण गरिएको थियो ।
परीक्षण गराउनेमध्ये अधिकांश कोरोना संक्रमणले गर्दा अस्पताल जान नपाएका वा नगएका ५० वर्ष नाघेका मानिसहरु रहेको पाइएको छ ।
ललितपुर महानगरपालिका– १६ ले अरनिको समाजसंग मिलेर माघ १७ गतेदेखि शिविरको शुरुवाट गर्दै प्रत्येक शनिबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ ।
स्वास्थ्य सेवालाई सबैको पहुँच योग्य बनाउने र आर्थिकस्तर कमजोर भएका मानिसहरुमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले अभियानकैै रुपमा शिविर आयोजना गरिएको वडाअध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो । वडाअध्यक्ष शाक्यका अनुसार शिविरबाट १६ वडाका साथै आसपासका वडावासीहरु समेत लाभान्वित भएका छन् ।
आउँदो शनिबार नागबहालमा स्त्री रोग सम्बन्धी शिविर, फागुण १५ गते दौबहालमा पेट तथा कलेजो सम्बन्धी शिविर, फागुण २२ गते मंगलबजारमा ज्येष्ठ नागरिकहरुको लागि नशा, युरोलोजी, मधुमेह र जनरल सम्बन्धी शिविर सञ्चालन हुने छ ।
Categorized in स्थानीय