कमलपोखरी वरीपरीका कंक्रिट संरचना महानगरपालिकाले भत्कायो
SamacharDesk – बिराज | २०७७ माघ १९, सोमबार

काठमाडौँ महानगरपालिकाले कमलपोखरी विस्तारमा मापदण्ड विपरित क्रंक्रिट ढलान गरेको आरोप लागिरहेकै बेला महानगरपालिकाले नै पोखरी वरपरका कंक्रीटका संरचनाहरु भत्काएको छ ।
महानगरपालिकाले डोजर लगाएर महानगरीय प्रहरी वृत्त कमलपोखरीको कार्यालय, कमलपोखरी स्पोर्टस् क्लबको भवन र राधे–राधेको सत्संग भत्काएको हो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावालीले कमलपोखरीको गुरुयोजना अनुसार कमलपोखरी पुनर्निर्माणका लागि ती कंक्रिट संरचना भत्काएको जानकारी दिनुभयो । ज्ञवालीले योजना अनुसारको काम अघि बढाउने र त्यहाँ सुन्दर पोखरी निर्माण गर्ने बताउनुभयो ।
‘अब चारैतिरका कुनामा काठको कलात्मक मण्डप बनाउने योजना छ । त्यहाँ कंक्रिटको प्रयोग गर्दैनौं । समान्य रुपमा सिमेन्टको प्रयोग भने हुन्छ’ ज्ञवालीले जानकारी दिनुभयो ।
अहिले चर्चा गरे जस्तो पोखरीमा कंक्रिट संरचना प्रयोग गर्ने कुनै योजना नरहेको पनि ज्ञवालीले दाबी गर्नुभयो ।
कंक्रिट संरचना भत्काउँदा सम्पदाप्रेमी सुशन बैद्यलगायत पनि कमलपोखरी पुग्नु भएको थियो । उहाँहरुले ती संरचना विना जानकारी भत्काएको भन्दै अवरोध गर्न खोज्दा केहीबेर प्रहरीसँग ठेलमठेलसमेत भएको थियो ।
Categorized in स्थानीय