arin enterprises

सामाजिक संजालमा थापाप्रति श्रद्धान्जलीको ओइरो

SamacharDesk – बिराज | २०७८ जेठ १८, मंगलबार

विवेकशील पार्टीका नेता उज्वल थापाको निधन पछि उनलाई प्रधानमन्त्रीदेखि मन्त्री र विभिन्न पार्टीका नेताहरुको साथै आम नागरिकहरुले पनि सामाजिक संजालमा दुःख व्यक्त गरिरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गर्दै थापालाई श्रद्धान्जली पोखेका छन् । प्रधानमन्त्री ओलीले थापाको निधनप्रति स्तब्ध भएको भन्दै थापाको शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पनि ट्वीटरमार्फत थापाप्रति श्रद्धान्जली पोखेका छन् । मन्त्री ढकालले थापाको असामयिक निधनले आफुलाई दुःखित बनाएको भनेका छन् ।

नागरिक समाजका अगुवा साथै स्तम्भकार नारायण वाग्लेले थापाको परिवर्तनको मुद्दाले प्रेरित युवा आगोलाई दीर्घायू दिने लेखेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले थापाको निधनले दुखी बनाएको भन्दै थापाको आत्माको चीरशान्तिको कामना गरेका छन् ।

‘विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको कोरोना भाईरस संक्रमणबाट निधन भएको खबरले दुःख लागेको छ’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लेखेका छन् ।

ट्वीटर र फेसबुकलगायत सामाजिक संजालमा सर्वसाधारणले पनि थापालाई श्रद्धान्जली अर्पण गर्दै  उनको फोटो शेयर गरेका छन् । यसरी श्रद्धान्जली अर्पण गर्नेमा विशेष गरी युवा पुस्ताको ओइरो नै लागेको छ ।

Categorized in समाज