कन्फराक्टीभ मिडियाबाट नेपालभाषाकाे न्यूज पाेर्टल ebukhan.com सुरू
SamacharDesk – बिराज | २०८० फाल्गुण ४, शुक्रबार

वागमति प्रदेशका सांसद शैलेन्द्र बज्राचार्यले अब चाँडै नै वागमति प्रदेशमा नेपालभाषा र तामाङ भाषा कामकाजी भाषाको रुपमा प्रयोगमा आउने बताएका छन् ।
ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद बज्राचार्यले प्रदेशमा भाषा सम्वन्धि विधेयक पारित भइसकेको र अब चाँडै कार्यान्वयनमा आउने बताएका हुन् ।
कार्यक्रममा सांसद बज्राचार्यले कन्फराक्टीभ मिडिया सोलुसनको कन्फराक्टीभ हलको उद्घाटनको साथमा नेपालभाषाको न्यूज पोर्टल www.ebukhan.com को शुभारम्भ गरेका थिए ।
सोही कार्यक्रममा बज्राचार्यले विधेयक सजिलै पारित भएको नभई धेरै जनाले धेरै संघर्ष र योगदान गरेको बताउँदै भाषा सम्वन्धि विधेयक कार्यान्वयनमा ल्याउन स्थानीय संचारमाध्यमको पनि उत्तिकै सक्रिय भूमिकाको आवश्यकता रहेको विचार राखे ।
‘गणतन्त्र, लोकतन्त्रमा यो विधेयक सजिलै पारित भएको जस्तो लाग्ला, जुन होइन । अब यसलाई कार्यान्वयनमा लग्न स्थानीय समाज र स्थानीय संचार माध्यमले पनि भूमिका खेल्नु आवश्यक छ’ बज्राचार्यले भने ।
अब स्थानीय नेपालभाषा प्रदेशको कामकाजी भाषा बन्ने अवस्थामा नेपालभाषाका संचारमाध्यमहरुले पनि व्यावसायिक रुपमा अघि बढ्न स्पष्ट योजना बनाउन उनले आग्रह गरे ।
कार्यक्रममा कन्फराक्टीभ मिडिया सोलुसनका अध्यक्ष बिराजकाजी राजोपाध्यायले स्थानीय विषयवस्तुको उठान र नयाँ खोजीका लागि कन्फराक्टीभ हललाई सम्वाद र अन्तरक्रियाको थलोको रुपमा विकास गर्ने बताए ।
‘६ वर्षदेखि चलाउँदै आएको नेपाली न्यूज पोर्टल समाचारडेस्कको पनि प्राथमिकता स्थानीय विषयवस्तु नै थियो, अब ईबुखँले स्थानीय विषय स्थानीय भाषामै सम्प्रेषण गर्छ । यी दुई डिजिटल डबलीको साथै कन्फराक्टीभ हल भौतिक रुपमा भेला भई स्थानीय विषयवस्तुमाथि सम्वाद, अन्तरक्रियाको लागि प्रयोग गरिनेछ’ राजोपाध्यायले भने ।
ईबुखँका सम्पादक विशाल राजभण्डारीले स्थानीय मुद्दा, विषयवस्तुलाई सशक्त ढङ्गले सम्प्रेषण गर्न स्थानीय समाजको सक्रिय सहयोगको लागि आग्रह गरे ।
कन्फराक्टीभ मिडिया सोलुसनले विगत ६ वर्षदेखि नेपाली न्यूज पोर्टल समाचारडेस्क संचालन गर्दै आएको छ, जसमा बिराजकाजी राजोपाध्याय सम्पादक छन् ।
अहिले नेपालभाषाको न्यूज पोर्टल ebukhan.com संचालन गरेको छ । यस न्यूज पोर्टलमा बिशाल राजभण्डारी सम्पादक छन् ।
कार्यक्रममा विभिन्न संचारमाध्यममा आवद्ध पत्रकार, संचारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि, अभियानकर्मी, समाजसेवी लगायतको उपस्थिती थियो ।
Categorized in समाज