arin enterprises

आखिर अस्ताइगए नवीन्द्रराज

SamacharDesk – बिराज | २०७७ चैत्र १३, शुक्रबार

नेपाली काँग्रेसका नेता साथै पुर्व उद्योगमन्त्री नविन्द्रराज जोशीको निधन भएको छ । मष्तिष्कघात भइ थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत ५७ वर्षीय जोशीको उपचारकै क्रममा आज मृत्यु भएको हो ।

अस्पतालले विज्ञप्ती जारी गर्दै उपचारकै क्रममा आज राति ८ः२४ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ । मष्तिष्कघात पछि उनलाई अस्पतालको आइसीयू कक्षमा भेन्टिलेटरमा राखेर उपचार जारी रहेको अस्पतालबाट जारी विज्ञप्तीमा जानकारी गराइएको छ ।

अस्पताल भर्ना भएपछि उनको टाउकोको सानो शल्यक्रिया गरिएको थियो । शल्यक्रिया पछि स्वास्थ्यमा सुधार देखिएकपछि उनलाई भेन्टिलेटरबात निकालिएको थियो भने स्वास्थ्य गम्भीर देखिएपछि पुनः भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । आज बिहानदेखि उनको मुटुलेसमेत काम गर्न छोडेको थियो ।

‘उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा उहाँको निधन भएको नर्भिक अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले बताउनुभएको छ’ विज्ञप्तीमा लेखिएको छ ।

फागुन १४ गते स्वास्थ्यमा समस्या देखिएपछि परिवारले उनलाई वीर अस्पताल लगेका थिए । वीरबाट उनलाई नर्भिक अस्पताल रिफर गरिएको थियो ।

कांग्रेस केन्द्रीय सदस्य समेत रहेका जोशी पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उद्योगमन्त्रीको जिम्मेवारीमा थिए । आफ्नो कार्यकालमा उनले नेपालका वन्द उद्योगहरु खोल्नको लागि पहल गरेका थिए ।

जोशी काठमाडौँ महानगरपालिकाका पूर्व उपमेयरसमेत हुनुभएको थियो ।

०३६ सालबाट विद्यार्थी राजनीतिमार्फत राजनीतिमा होमिनु भएका जोशीले नेपाल विद्यार्थी संघको काठमाडौँ जिल्ला अध्यक्ष र केन्द्रीय महामन्त्रीको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो ।

संविधानसभा सदस्यसमेत रहनुभएका उहाँ गणेशमान सिंह अध्ययन प्रतिष्ठानका संस्थापक तथा अध्यक्ष हुनुहुन्छ ।

जोशीका एक छोरी र श्रीमती हुनुहुन्छ ।

श्रद्धाञ्जली अर्पण गर्नका लागि जोशीको पार्थिव शरीरलाई पार्टी कार्यालयमा भोलि बिहान ११ बजेदेखि १ बजेसम्म राखिने बताइएको छ ।

Categorized in समाज