रत्नपार्कको चित्र मेटाएकोमा काँग्रेसको आपत्ती
SamacharDesk – बिकाश | २०७८ आषाढ १७, बिहिबार

रत्नपार्कको आकाशे पुलको भित्तामा कोभिड–१९ महामारीको अग्रपंक्तिमा खटिएकाहरुको सम्मानमा कोरिएको चित्र काठमाडौं महानगरपालिकाले मेटिदिएपछि यसको समर्थन साथै विरोधमा विभिन्न क्षेत्रबाट आवाज उठिरहेका छन् ।
महामारीको अवस्थामा पनि अग्रपंक्तिमा खटिएकाको सम्मानमा कलाकारहरुले निकै मेहनत लगाएर बनाएको चित्र यसरी मेटिदिएको भन्दै विभिन्न क्षेत्रबाट महानगरपालिकाको यो कार्यको विरोध भइरहेको छ ।
यसै क्रममा नेपाली काँग्रेसले महानगरको यस कार्यले कला र कलाकारको अपमान भएको जनाएको छ ।
नेपाली काँग्रेसले आज एक विज्ञप्ती जारी गर्दै महामारीमा फ्रन्टलाइनमा संघर्षरत योद्धाहरुको कदर गर्दै कसैले कुनै पनि तरीकाले सम्मान प्रकट गर्दा त्यसको सर्हाहना गरिनुपर्नेमा त्यस विपरितको व्यवहार निन्दनीय रहेको जनाएको छ ।
पार्टीका प्रवक्ता एवम् सूचना, संचार तथा प्रचार विभाग प्रमुख विश्व प्रकाश शर्माबाट हस्ताक्षरित पत्रमा लिखित अनुमति लिएर फ्रन्टलाइनमा जुधिरहेकाको सम्मानमा चित्र बनाउँदा बधाई नदिई अपमान गरिएको जनाइएको छ ।
वडा कार्यालयबाट स्वीकृति लिएरै चार जना कलाकार र तीन जना स्वयंसेवक मिलेर ६ दिन लगाएर यो चित्र तयार गरेका थिए । गत जेठ ३० मा निर्माण सकेको यो चित्र महानगरपालिकाले एकाएक मेटिदिएको थियो ।
यस किसिमको कामको लागि वडा कार्यालयले अनुमति दिन नमिल्ने भन्दै काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेश्वर ज्ञवालीको निर्देशनमै चित्र मेटाइएको बताइएको छ ।
