सुकुम्वासी समस्यालाई लिएर देय् दबू र आयोगको वैठक
SamacharDesk – बिराज | २०७९ पौष ६, बुधबार

भूमिहीन दलित, भूमिहिन सुकुम्वासी, अव्यवस्थति बसोबासीको साथै स्वबासी समस्यालाई लिएर नेवाः देय् दबू र राष्ट्रिय भूमि आयोगबीच छलफल भएको छ । गत सोमबार देय् दबूको कार्यालय टेकुमा दबू भूमि आयोग काठमाडौं जिल्ला समितिका पदाधिकारीहरुबीच छलफल भएको हो ।
छलफलको क्रममा देय् दबूले सुकुम्बासीको साथमा सयौं वर्षदेखि उपत्यकाका विभिन्न ठाउँमा बसोबास गर्दै आएका स्वबासी र बेनिस्साहरुको समस्या समाधानका लागि आयोगलाई आग्रह गरेको थियो ।
काठमाडौं उपत्यकाकै आदिवासी समुदाय भएर पनि स्वबासी र बेनिस्साहरुले कागजपत्र नभएर राज्यबाट पाइने न्यूनतम सुविधासम्म उपभोग गर्न नपाएकोमा दबूले आयोगको ध्यानाकर्षण गराएको थियो ।
‘राज्यले दश वर्ष बसेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासीहरुको बारेमा सोच्यो तर, सयौं वर्षदेखि यहाँ बसिरहेका स्वबासीहरुको बारेमा सोचेको देखिएन । स्वबासीहरुको समस्या समाधानको लागि पनि पहल गर्न हामीले आयोगलाई आग्रह गर्यौं’ वैठकका एक सहभागीले बताए ।
आयोग काठमाडौं समितिका अध्यक्ष श्यामकृष्ण प्रजापतिले स्वबासी र बेनिस्साको विषय आयोगको क्षेत्राधिकार भन्दा बाहिर परेको जानकारी गराउँदै समस्या समाधानका लागि सहयोग भने गर्ने प्रतिवद्धता जनाएका थिए । सरोकारवाला निकायसँग समन्वय गर्दै सहकार्य गर्न आफु सधैं तयार रहेको प्रजापतिको भनाई थियो ।
‘स्वबासी र बेनिस्साको विषय आयोगको क्षेत्राधिकारमा पर्दैन भन्दैमा केही नगर्ने भने होइन । म व्यक्तिगत रुपमा यस विषयमा विगतमा पनि लागिरहेकै थिएँ र अहिले पनि सबैको साथमा अघि बढ्न तयार छु’ प्रजापतिको भनाई हो ।
छलफलमा आयोगका तर्फबाट काठमाडौं समितिका अध्यक्ष प्रजापतिको साथमा सदस्य सचिव शिव लम्साल, सदस्यद्वय मोतीलाल लामा र सुशीला खतिवडाको उपस्थिती थियो ।
त्यसैगरी देय् दबूकातर्फबाट केन्द्रीय उपाध्यक्ष उमेश स्थापित, स्वनिगः विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जन, काठमाण्डौ जिल्लाका अध्यक्ष धनबहादुर महर्जनलगायतका जिल्ला पदाधिकारीहरुको सहभागीता थियो ।
Categorized in समाज