बाँकेमा सोमबार मृत्यु हुने महिलामा कोरोना पुष्टि
SamacharDesk – विकाश | २०७७ आषाढ ३, बुधबार

गत असार १ गते कोहलपुरस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु हुने महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।
असार १ गते उपचारको क्रममा मृत्यु हुने बाँके जिल्ला वैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले असार २ गते आएको उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभयो ।
मृगौला सम्बन्धि समस्याबाट पिडित ती महिला गत जेठ ३० गते नेपाल मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकि थिइन् ।
कोरोना परिक्षणका लागि असार १ गते उनको स्वाब संकलन गरि भेरी अस्पतालको प्रयोगशालामा पठाइएको थियो ।
तर परिक्षणको रिपोर्ट आउन नपाउँदै सोही दिन साँझ ६ बजे अस्पतालको आइसीयूमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।
उनी निमोनियाबाट पिडित रहेको बताइएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको मृत्यु संख्या २० पुगेको छ भने बाँकेमा कोरोना संक्रमणका कारण दोश्रो मृत्यु हो ।
यसअघि बाँके नरैनापुर गाउँपालिका ५ का २५ वर्षीय यूवकको पनि कोरोना संक्रमणका कारण गत जेठ ४ गते मृत्यु भएको थियो ।
Categorized in समाज