फेरी पर्सामै दुई जना संक्रमितको मृत्यु
SamacharDesk – बिकाश | २०७७ श्रावण २१, बुधबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ ।
मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पर्साका एक पुरुषको साथै एक महिलाको मृत्यु भएको बताउनुभयो ।
१९ गते मृत्यु भएकी पर्सा जिल्लाकी १८ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको छ ।
पर्साको पोखरिया नगरपालिका ९ बस्ने महिलालाई गत १९ गते झाडापखाला लागेर सिकिस्त भएपछि नेशनल मेडिकल कलेज वीरगंज लग्दै गर्दा उनको बाटैमा मृत्यु भएको थियो ।
नेशनल मेडिकल कलेजमा उनको स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा परिक्षण गरिँदा उनमा कोरोना पोजेटिभ देखिएको हो ।
त्यसैगरी पर्साकै एक पुरुषको आज विहान अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
पर्सा जिल्ला वीरगंज महानगरपालिका ५ बस्ने बर्ष ४६ का पुरुषमा ज्वरो र खोकीको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।
गत १९ गते स्वाब नमूना संकलन गरी परिक्षण गरिँदा सोही दिन उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमण पुष्टि भएपछि उनलाई २० गतेदेखि आइसोलेसनमा राखी उपचार शुरु गरिएको थियो भने आज विहान ६ः०० बजे उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
मृतक पुरुष विगत केही वर्षदेखि मधुमेह रोगबाट पिडित थिए ।
आज थप दुई जना संक्रमितको मृत्यु पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६० पुगेको छ ।
Categorized in समाज