५ जना संक्रमितको मृत्यु, मृतक संख्या ७० पुग्यो
SamacharDesk – बिकाश | २०७७ श्रावण २३, शुक्रबार

आज पनि फेरी कोरोना संक्रमणका कारण मृत्यु हुनेमा ५ जना मृतक थपिएका छन् ।
आज थप हुने ५ जना मृतकमध्ये ३ जना पर्सा जिल्लाकै रहेका छन् ।
पर्सा जिल्ला वीरगंज महानगरपालिका ९ का ४५ वर्षीय पुरुषको हिजो दिउँसो ३ः३० बजे पाटन अस्पतालमा निधन भएको छ । मृतक मधुमेह र रक्तचापका विरामी रहेको बताइएको छ ।
त्यसैगरी २० गते घरमै मृत्यु हुने पर्सा वीरगंज मनपा ११ श्रीपुर बस्ने ७९ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
साथै पर्सा जिल्लाकै वीरगंज महानगरपालिका ११ श्रीपुरकै ५७ वर्षका पुरुषको पनि हिजो विहान ९ः०० बजे उपचारको क्रममा गण्डक अस्थायी कोभिड अस्पतालमा निधन भएको छ ।
उनी मधुमेह, उच्च रक्तचाप र मुटु रोगबाट पिडित रहेको स्वास्थ्य तथा जनसंख्याका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
सिराहा जिल्ला गोलबजार नगरपालिका १२ का २५ वर्षीय पुरुषको पनि हिजोे राती १०ः४५ बजे निधन भएको छ ।
विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
मृगौलाको समस्याबाट पिडित उनी डायोलाइसिस समेत गराउँदै आएका थिए । जनकपुरबाट उनलाई विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको बताइएको छ ।
सर्लाही जिल्ला बसन्तपुर स्थायी घर भएका वर्ष ४५ का पुरुषको आज विहान ८ः४१ बजे उपचारको क्रममा पाटन अस्पतालमा निधन भएको छ ।
पछिल्ला दिनहरुमा दैनिक जसो कोरोना संक्रमणका कारण मृत्यु भइरहेको छ । हिजो र आज गरेर १० जनाको मृत्यु भइसकेको छ । हिजो पनि स्वास्थ्य मन्त्रालयले ५ जनाको मृत्यु पुष्टि गरेको थियो ।
आज थप ५ जनाको मृत्यु पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७० पुगेको छ ।
Categorized in समाज