arin enterprises

थप चार जना संक्रमितको मृत्यु पुष्टि

SamacharDesk – बिकाश | २०७७ श्रावण २७, मंगलबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप चार जना कोरोना संक्रमितको मृत्यु पुष्टि गरेको छ ।

मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले धनुषा जिल्लाका दुई जना र सिन्धुपाल्चोकका एक जना पुरुष अनि काभ्रेकी एक महिलाको निधन भएको जानकारी दिनुभयो ।

गत २२ गते शिक्षण अस्पतालमा मृत्यु हुने सिन्धुपाल्चोकका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । 

बार्हविसे नगरपालिका ४ निवासी ८४ वर्षीय पुरुषको मनमोहन कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर शिक्षण अस्पतालमा गत २२ गते उपचारको क्रममा निधन भएको थियो ।

त्यसैगरी गत २५ गते निधन हुने धनुषाका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । 

धनुषा जिल्ला मिथिलाविहारी नगरपालिका ५ निवासी ५० वर्षीय पुरुषको गत २५ गते निधन भएको थियो । 

मृतक पुरुष जनकपुरधाम उपमहानगरपालिका २ कदमचोकस्थित विनयतारा फाउन्डेसन क्यान्सर अस्पतालमा सेक्युरिटि गार्डको काम गर्थे ।

त्यसैगरी धनुषा जिल्ला विदेह नपा ८ वस्ने ६० वर्षीय पुरुषको हिजो राती १० बजे निधन भएको छ ।

प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा उनको निधन भएको हो ।

साथै, काभ्रे जिल्ला पाँचखाल १ निवासी ५० वर्षीया महिलाको पनि मृत्यु भएको छ । 

निमोनियाको उपचार गराउन गत गत आइतबार दिउँसो १ बजे उनी ललितपुरको किस्ट मेडिकल कलेज पुगेकी थिइन् । 

सोही अस्पतालको आइसीयूमा उपचारको क्रममा उनको निधन भएको हो ।

उनको स्वाब संकलन गरी परिक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको छ ।

Categorized in समाज