arin enterprises

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुग्यो

SamacharDesk – बिकाश | २०७७ श्रावण २९, बिहिबार

नेपालमा कोरोना संक्रमितको मृत्यु हुने क्रम आज पनि निरन्तर नै रह्यो । 

थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले महोत्तरी, धनुषा, अछाम र मोरङमा एक/एक जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

गत २५ गते रामजानकी अस्पतालमा निधन हुने महोत्तरी जिल्ला मटिहानी नगरपालिका ६ निवासी पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । 

४५ वर्षीय मृतक पुरुष क्षयरोग र मधुमेहबाट समेत पिडित रहेको बताइएको छ ।

त्यसैगरी धनुषा जिल्ला मिथिला नगरपालिका ७ ढल्केवर निवासी ८५ वर्षीया महिलाको हिजो निधन भएको छ । उनको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यसैगरी पाटन अस्पताल ललितपुरमा उपचाररत अछाम जिल्ला रामारोशन गाउँपालिका ५ का १८ वर्षीय पुरुषको पनि निधन भएको छ । 

मृतक पुरुषमा मुटु सम्वन्धि समस्या रहेको बताइएको छ ।

मोरङ जिल्ला विराटनगर महानगरपालिका ३ का ५७ वर्षीय पुरुषको पनि हिजै कोशी अस्पताल विराटनगरमा निधन भएको छ ।

उनी मधुमेह र उच्च रक्तचापका विरामी रहेको बताइएको छ ।

आज थप संख्यासँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।

Categorized in समाज