कोरोनाको सब भेरियन्ट जेएन.१ बाट आत्तिनु नपर्ने मन्त्रालयको प्रष्टोक्ति
SamacharDesk | २०८० पौष २५, बुधबार

कोरोनाको नयाँ सब भेरियन्ट जेएन.१ बाट आत्तिनु नपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत बुधबार नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट भेटिएको पुष्टि भएपछि सर्वसाधारणमा त्रास बढेको छ ।
सर्वसाधारणमा त्रास बढेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले भने सिकिस्त नबनाउने र मृत्यु गराउने दर पनि कम भएकाले नआत्तिन आग्रह गरेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १६ वटा एन्टिजेन पोजेटिभ नमुनाको जिन सिक्वेन्सिङ गर्दा नेपालमा सातवटा नमुनामा कोरोनाको नयाँ भेरिएन्ट जेएन डट वान पुष्टि भएको थियो।
ईडीसीडीका निर्देशक डा. रुद्र मरासिनीले जेएन.१ नयाँ भाइरस नभएको र मृत्यु गराउने दर कम देखिएकाले आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो ।
आत्तिनुपर्ने अवस्था नरहे पनि सङ्क्रमण फैलन नदिन भिडभाडमा मास्कको प्रयोग, भौतिक दूरी कायम राख्नुका साथै हातको सरसफाइमा समेत विशेषतः ध्यान दिन आग्रह मन्त्रालयले आग्रह गरेको छ ।
नेपालमा पहिलोपटक सात जनामा जेएन.१ संक्रमण देखिएको थियो । जेएन.१ बढी संक्रामक भएकाले संक्रमितको संख्या भने बढ्न सक्ने मन्त्रालयले जनाएको छ । भारतसहित एसियाली मुलुकहरूमा यो भाईरस तीव्ररूपमा फैलिरहेको छ ।
मन्त्रालयले नयाँ सब भेरिएन्टको बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै नेपाल प्रवेश बिन्दुमा सम्पूर्ण हेल्थ डेक्सहरु, स्वास्थ्य कार्यालयहरूमार्फत आवश्यक स्क्रीनिङ र निगरानी निरन्तर गर्नुका साथै स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य उपचार व्यवस्थापनको तयारी अवस्थामा रहन अनुरोध गरेको छ ।
Categorized in राष्ट्रिय