निको हुनेको दर घट्दै, नयाँ संक्रमित बढ्दै
SamacharDesk – बिकाश | २०७८ श्रावण १४, बिहिबार

नेपालमा कोभिड १९ संक्रमण फेरी बढ्दै गएको छ । पछिल्ला दिनहरुमा नयाँ संक्रतिको संख्या बढ्दै गइरहेको छ भने निको हुनेको संख्या र दर कम हुँदै गएको छ ।
संक्रमणको दोश्रो लहरमा निको हुनेको दर बढ्दै ९६ प्रतिशतभन्दा माथि पुगिसकेकोमा हाल यो दर घटेर ९४ दशमलव एक प्रतिशतमा पुगेको छ ।
कोभिड संक्रमण निको हुनेको कुल संख्या ६ लाख ५० हजार ४४५ रहेको छ । पछिल्लो पटक एक हजार ३७३ जना संक्रमित निको भएका छन् ।
हालसम्म नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या भने ७ लाख ५० हजार २२ रहेको छ । पछिल्लो २४ घण्टामा थप ३ हजार ३६५ जना नयाँ संक्रमित भेटिएका हुन् ।
१४ हजार २४२ जनाको स्वाब नमूनाको परिक्षण गरिएको थियो । ९ हजार ५५५ वटा आरटी पिसिआर परिक्षणमा २ हजार ३३५ जना र ४ हजार ६८७ वटा एन्टिजेन परिक्षणमा एक हजार ३० जना संक्रमित भेटिएका हुन् ।
परिक्षण संख्याको आधारमा २३ दशमलव ६२ प्रतिशत संक्रमित भेटिएका हुन् । नयाँ संक्रमितमध्ये ८५ जना १० वर्षसम्मका बालबालिका छन् भने ११ देखि २० वर्ष उमेर समूहका २८५ जना छन् ।
पछिल्लो पटक १६ जना कोभिड संक्रमितको मृत्यु भएको छ । कोभिड १९ संक्रमणका कारण हालसम्म ९ हजार ८०७ जनाको मृत्यु भइसकेको छ ।
होम आइसोलेसन र विभिन्न संस्थागत आइसोलेसनमा ३० हजार ३९० जना सक्रिय संक्रमित उपचाररत छन् । २७ हजार ३५५ संक्रमित होम आइसोलेसनमा छन् भने ३ हजार ३५ जना विभिन्न संस्थागत आइसोलेसनमा छन् ।
आइसीयूमा उपचाररत ६३६ जनामध्ये १६० जना भेन्टिलेटरमा छन् ।
Categorized in राष्ट्रिय