कुनै दीर्घ रोग नभएका कोरोना संक्रमितको अचानक मृत्यु
SamacharDesk – विकाश | २०७७ आषाढ ३१, बुधबार

रौतहटमा उपचाररत एक कोरोना संक्रमितको आज मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले रौतहट जिल्लाको परोहा नगरपालिका ७ का ३६ वर्षीय पुरुषको मृत्यु भएको जनाएको छ ।
गत २९ गते वीरगंजस्थित नारायणी अस्पताल भर्ना भएका उक्त पुरुषलाई आज विहान एकाएक स्वास्थ्यमा जटिलता देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
उपचारकै क्रममा दिउँसो साढे २ बजे उनको मृत्यु भयो ।
उनको दाजुको पनि केही दिन अघिमात्र भारतमा मृत्यु भएको थियो ।
रोजगारीको क्रममा भारतमा रहेका दाजुको उतै मृत्यु भएपछि दाजुको अन्तिम संस्कारका लागि उनी भारतको बैङ्गलोर पुगेका थिए ।
दाजुको अन्तिम संस्कार सम्पन्न गरी गत असार २४ गते भारतबाट नेपाल फर्केर रौतहट परोहाको आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टीनमा बसेका थिए ।
क्वारेन्टाइनमा बस्दै गर्दा २९ गते रुघाखोकी, ज्वरो साथै श्वासप्रश्वासमा समेत समस्या देखिएपछि उनलाई सोही दिन वीरगंजस्थित नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पताल भर्ना भएकै दिन उनको स्वाब नमूना संकलन गरी हेटौंडाको प्रयोगशालामा परिक्षणको लागि पठाइएकोमा आज आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको हो ।
मृतक पुरुषमा कुनै पनि खालको दीर्घ रोग नभएको र स्वास्थ्य अवस्था पनि सामान्य नै रहेकोमा अचानक स्वास्थ्य जटिल बनेको र मृत्यु भएको अस्पतालका चिकित्सकहरुले जनाएका छन् ।
योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।
Categorized in समाज