कोरोना संक्रमण निको हुनेको दर ९१ प्रतिशतको नजिक
SamacharDesk – बिकाश | २०७७ मङ्सिर ८, सोमबार

नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या २ लाख नाघेको छ । आज थप ३ हजार ४३ जना संक्रमित निको भएसँगै संक्रमण निको हुनेको कुल संख्या २ लाख २ हजार ६७ पुगेको हो ।
पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या बढ्दो दरमा छ । आजसम्मको तथ्याङ्कलाई हेर्ने हो भने संक्रमण निको हुनेको दर ९० दशमलब ९ प्रतिशत पुगेको छ । हिजो यो दर ९० दशमलव ३ प्रतिशत थियो ।
पछिल्लो २४ घन्टाभित्र संक्रमण निको हुनेमा एक हजार ४ सय ७० जना काठमाडौं उपत्यकाबाट रहेका छन् ।
काठमाडौं उपत्यकामा हालसम्म कुल संक्रमितमध्ये ८९ दशमलव ११ प्रतिशतले कोरोना संक्रमणलाई जितिसके ।
काठमाडौं उपत्यकामा अहिलेसम्म एक लाख ३ हजार ७ सय ३५ जना कोरोना भाईरस (कोभिड १९) बाट संक्रमित भइसकेका छन् भने ९२ हजार ४ सय ४१ जना निको भइसके ।
पछिल्लो दिनमा संक्रमण निको हुने संख्या बढ्दै गएसँगै सक्रिय संक्रमितको संख्या पनि घट्दै गइरहेको छ ।
Categorized in समाज