‘कोरोना जोखिम घटेर हवाइ उडान सुचारु गर्न लागिएको होइन’
SamacharDesk – विकाश | २०७७ श्रावण ६, मंगलबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको जोखिम घटेर हवाई उडान सेवा सुचारु गर्न लागिएको नभएको स्पष्ट गरेको छ ।
मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले हवाई सेवा सुचारु गरिएपछि संक्रमणको बढ्न सक्ने सम्भावनातर्फ सचेत भई सावधानी अपनाउन आवश्यक रहेको बताउनुभयो ।
छिमेकी देशको साथै अन्य मूलुकमा हवाई सेवा सुचारु गर्दा संक्रमण एक्कासी बढेको स्थितीलाई मनन गर्नुपर्ने प्रवक्ता डा. गौतमको भनाई थियो ।
सरकारले लकडाउनका कारण बन्द रहेको आन्तरिक तथा बाह्य हवाई उडान सेवा आउँदो भदौ १ गतेबाट सुचारु गर्ने निर्णय गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषद् वैठकले भदौ १ बाट आन्तरिक र बाह्य दुवै उडान सुचारु गर्ने निर्णय गरेको हो ।
यसै सन्दर्भमा डा. गौतमले लामो समयदेखि उडान वन्द हुँदा उत्पन्न समस्यालाई मध्यनजर गरेर हवाई उडान सुचारु गर्न लागिएको प्रष्ट गर्नुभयो ।
विदेशबाट स्वदेश आउन चाहने नेपाली र विदेश फर्कनुपर्नेहरुको सहजीकरणका लागि र हवाई सेवा बन्द हुँदा व्यापार व्यवसायमा परेको असरलाई पनि ध्यानमा राखी हवाई सेवा सुचारु गर्ने निर्णय गरिएको गौतमले जानकारी गराउनुभयो ।
यात्राको दौरान यात्रु तथा उडानकर्मीहरुको सुरक्षाको उपायहरु तोकिएको मापदण्ड बमोजिम व्यवस्था गर्न गराउन पनि उडान कम्पनीहरुलाई स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।
Categorized in समाज