arin enterprises

उपत्यकामा सक्रिय संक्रमितको संख्या घट्दै

SamacharDesk – बिकाश | २०७७ माघ २०, मंगलबार

काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या दिनहुँ घट्दै गएको छ । उपत्यकाभित्रका सक्रिय संक्रमित संख्यामा हिजोभन्दा ४१ जनाले कमी आएको छ ।

हिजो उपत्यकाका सक्रिय संक्रमितको संख्या एक हजार ५ सय ५५ थियो भने आज एक हजार ५ सय १४ रहेको छ । काठमाडौंमा एक हजार ४ सय ३२ सक्रिय संक्रमित छन् भने ललितपुरमा ६८ र भक्तपुरमा १४ जना छन् ।

पछिल्लो पटक थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये ६५ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये २४ जना महिला छन् भने ४१ जना पुरुष रहेका छन् ।

पछिल्लो पटक काठमाडौंमा ५७, ललितपुरमा ५ र भक्तपुरमा ३ जना नयाँ संक्रमित भेटिएका हुन् ।

योसँगै काठमाडौंमा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या एक लाख २६ हजार ८ सय ३४ पुगेको छ ।

उपत्यकाभित्र पछिल्लो पटक एक सय ६ जना संक्रमित निको भएका छन् । तीमध्ये काठमाडौंमा ८९, ललितपुरमा १३ र भक्तपुरमा ४ जना छन् ।

हालसम्म उपत्यकामा कोरोना निको हुनेको संख्या एक लाख २४ हजार ५ सय ४६ पुगेको छ ।

उपत्यकामा कुल संक्रमितमध्ये ९८ दशमलव १९ प्रतिशत निको भइसकेका छन् ।

Categorized in समाज