कोरोनाको जोखिम बढेसँगै सजग रहन अनुरोध
SamacharDesk | २०७९ पौष १०, आइतबार

सरकारले कोभिड संक्रमणको जोखिम कायमै रहेको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ ।
शनिबार एक विज्ञप्ति निकाल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्रिसमस र अँग्रेजी नयाँ वर्षमा भीडभाड हुनसक्ने भन्दै त्यस अवधिमा सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।
कोभिड संक्रमणबाट बच्न र बचाउन मास्कको प्रयोग, भौतिक दूरी कायम, साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग बढाउन अपिल गर्नुभएको छ ।
मन्त्रालयले बुस्टर डोज लगाउन बाँकी रहेका नागरिकलाई स्थानीय स्वास्थ्य संस्थामा गएर खोप लगाउन भनेको छ ।
यस्तै गृह मन्त्रालयले पनि एक विज्ञप्ति निकाल्दै छिमेकी राष्ट्रहरु कोरोनाको नयाँ स्वरुपको संक्रमण फैलिएको भन्दै त्यसबाट नेपालमा पनि पर्न सक्ने जोखिमप्रति सचेत रहन अनुरोध गरेको छ ।
मन्त्रालयले जिल्लास्थित सुरक्षा समिति, स्वास्थ्य कार्यालय, स्थानीय तह लगायत सरोकारवाला निकायको समन्वयमा सार्वजनिक यातायातका साधन तथा बढी भीडभाड हुने स्थानमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले हिजो एक विज्ञप्ति जारी गर्दै एकअर्कामा भौतिक दूरी कायम राख्ने तथा व्यक्तिगत सरसफाइ लगायतका गतिविधिमा आवश्यक सावधान अपाउन पनि अनुरोध गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी राष्ट्र चीन, जापान, दक्षिण कोरियालगायत राष्ट्रहरुमा कोभिडको संक्रमण पुनः देखिन सुरु भएको र त्यहाँ देखिएको कोभिडको सव भेरिएन्ट बिएफ ७ को संक्रमण दर दिनानुदिन वृद्धि हुँदै गएको बताइएको छ ।
यस भेरिएन्टले छोटो समयमा धेरै व्यक्तिलाई संत्रमण गर्ने देखिएको भन्दै मन्त्रालयले हालसम्म भने यो भेरिएन्ट नेपालमा पुष्टि नभएको जनाएको छ ।
नेपालसँगको खुला सिमाना र मानिसको आवतजावतका कारणले मुलुकमा यसको संक्रमण जोखिम रहेको हुँदा यसको रोकथाम एवं नियन्त्रणका लागि जनसमुदाय सजग एवमं सचेत हुन जरुरी देखिएको बताउनुभएको छ ।
स्वास्थ्य मन्त्रालयले कोभिडको रोकथाम तथा पहिचानका लागि सीमा नाका तथा अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिने यात्रुहरुको ज्वरो नाप्ने, शंकास्पद व्यक्तिहरुको एन्टिजेन टेष्ट र जीन सिक्वेन्सिङ गर्ने कार्य भइरहेको जनाएको छ ।
Categorized in समाज