arin enterprises

अल्फा, डेल्टा पछि नेपालमा कप्पा भेरिएन्ट पनि भेटियो

SamacharDesk – बिराज | २०७८ श्रावण १२, मंगलबार

नेपालमा पछिल्ला दिनहरुमा भेटिएका कोभिड १९ का नयाँ संक्रमितहरुमा डेल्टा र अल्फा भेरिएन्टको साथमा  A. Y1 नाम दिइएको के४१७एन म्यूटेसन समेत पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज प्रेस विज्ञप्ती जारी गर्दै नेपालमा जेठ मध्यदेखि असार मसान्तसम्म संकलित विभिन्न नमूनामा कोरोना भाईरसका नयाँ भेरिएन्ट भेटिएको पुष्टि गरेको हो ।

मन्त्रालयका अनुसार देशका विभिन्न भागहरुबाट विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित ४७ जनाको नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षण गरिएको थियो ।

त्यसपछि ती नमूनाहरुलाई गएको असार ३० गते भारतको नयाँ दिल्लीस्थित डब्लुएचओ आइडेन्टीफाइड सेन्टर फोर एक्सिलेन्स इन जिनोमिक्स, द इन्स्टिच्यूट अफ जिनोमिक्स एन्ड इन्टग्रेटिभ बायोलोजिमा सिक्वेन्सिङका लागि पठाइएको थियो ।

विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयको साथै दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा नमूनाहरु उता पठाइएको थियो ।

ती नमूनाहरुको जिनोमिक पहिचान गर्दा सबै नमूनाहरुमा डेल्टा भेरिएन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तीमध्ये ३ वटामा A. Y1 नामक थप उत्परिवर्तन के४१७एन म्यूटेसन भेटिएको पनि मन्त्रालयले बताएको हाे ।

योसँगै नेपालमा कोरोना भाईरसको अल्फा भेरिएन्ट, डेल्टा भेरिएन्टको साथमा कप्पा भेरिएन्ट समेत पुष्टि भएको छ । यी भेरिएन्टहरु सबै उमेर समूहका व्यक्तिहरुलाई असर गर्ने र बढि संक्रामक रहेको अध्ययनले देखाएको छ ।

यस्तो अवस्थामा सबैलाई संवेदनशील भई जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न गराउन मन्त्रालयले आग्रह गरेको छ । 

Categorized in समाज