arin enterprises

प्रेस पास र ज्याकेटको दुरुपयोग भएकोमा काउन्सिलको ध्यानाकर्षण

SamacharDesk – बिराज | २०७८ जेठ ३, सोमबार

प्रेस काउन्सिल नेपालले गैर पत्रकार व्यक्तिहरुले नक्कली प्रेस पास र नक्कली ज्याकेट प्रयोग गरेकोमा ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलले प्रेस विज्ञप्ती जारी गर्दै नक्कली प्रेस पास र ज्याकेटको दुरुपयोग भएकोमा ध्यानाकर्षण भएको जनाएको हो ।

नेपालमा कोभिड १९ को दोश्रो लहरबाट आक्रान्त भइरहेको र मानिसको ज्यान गइरहेको अवस्थामा गैर पत्रकार व्यक्तिहरुले नक्कली प्रेस पास र नक्कली ज्याकेट प्रयोग भएको समाचार आउन थालेपछि काउन्सिलको पुनः ध्यानाकर्षण भएको जनाएको हो ।

यस विषयमा नेपाल पत्रकार महासंघ, सूचना तथा प्रसारण विभाग, सम्पूर्ण व्यावसायिक पत्रकारलाईसमेत गम्भीर बन्न पनि काउन्सिलले अनुरोध गरेको छ ।

‘साथै, नक्कली प्रेस पास र आफ्नै ढङ्गको प्रेस ज्याकेट बनाएर त्यसको आवरणमा विभिन्न आपराधिक क्रियाकलाप गर्दै व्यावसायिक पत्रकारिताको हुर्मत लिनेहरुमा यस्तो गलत कार्य नगर्न प्रेस काउन्सिल नेपाल चेतावनी दिन चाहन्छ’ विज्ञप्तीमा लेखिएको छ ।

काउन्सिलका वरिष्ठ प्रशासकिय अधिकृत साथै प्रवक्ता दीपक खनालबाट हस्ताक्षरित विज्ञप्तीमा यस्ता गतिविधि नरोकिएमा र प्रेस पास र ज्याकेटको दुरुपयोग गरेको पाइए काउन्सिल कडा कारवाही गर्न बाध्य हुने समेत जनाएको छ । 

Categorized in समाज