arin enterprises

प्रधानाध्यापक श्रेष्ठको हत्याको जिम्मा विप्लव समूहले लियो

SamacharDesk – बिकाश | २०७७ मङ्सिर २३, मंगलबार

मोरङ मिक्लाजुङमा आज विहान भएको प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले लिएको छ । नेपाल कम्यूनिष्ट पार्टी मेची कोशी ब्यूरोले प्रेस विज्ञप्ती जारी गर्दै श्रेष्ठको हत्याको जिम्मेवारी लिएको हो ।

ब्यूरो इन्चार्ज प्रतापको हस्ताक्षर रहेको विज्ञप्तीमा श्रेष्ठले लामो समयदेखि पार्टीको सुराकी गर्दै आएको र पटक पटक सम्झाउँदा, चेतावनी दिँदा पनि नसुध्रिएको दावी गरीएको छ ।

आज पनि सम्झाउन जाँदा श्रेष्ठले हतियार लिएर आक्रमण गरेको र प्रतिकारको क्रममा उनको मृत्यु हुन गएको विज्ञप्तीमा भनिएको छ ।

गत २०७६ फागुन २६ गतेका दिन मेची कोशी ब्यूरोको वैठकको क्रममा पनि श्रेष्ठले प्रहरी बोलाएर दमन गराएको विज्ञप्तीमा भनिएको छ ।

‘२०७७ साल कात्तिक १२ गते ब्यूरो इन्चार्ज बसेको स्थानमा प्रहरी अप्रेसन गराई ब्यूरो सदस्य कमरेड काशीराम घिमिरे र कमरेड विज्ञान राईलाई गिरफ्तार गराएको तथा पार्टीको महत्वपूर्ण सामग्रीसहित १ लाख रुपैयाँ लुट्न सघाउ पुयाएका थिए’, विज्ञप्तीमा लेखिएको छ ।

२०७७ साल साउनदेखि पटक पटक त्यस प्रकारका गतिविधि रोक्न सम्झाउँदा पनि उग्र गतिविधि गरीरहेको दावी पार्टीको रहेको छ ।

आज विहान करीब सवा सात बजे श्रेष्ठलाई पाँच जनाको समूहले अपहरण गरेर लगेका थिए ।

शुरुमा उनलाई गोली हानी हत्या गरिएको बताएपनि प्रहरीले घाँटी रेटेको अवस्थामा श्रेष्ठको शव जङ्गलमा फेला पारेका थिए ।

यो समाचार पनि पढ्नुहोला : मोरङमा घाँटी रेटी प्रधानाध्यापकको हत्या

Categorized in अपराध