कृष्ण मन्दिरमा भक्तजनको घुइचो
SamacharDesk – समाचारडेस्क | २०७९ भाद्र ३, शुक्रबार

आज भाद्र कृष्ण अष्टमी, नेपाललगायत भारतमा समेत कृष्णको पूजा गर्दै कृष्ण जन्माष्टमी मनाईँदैछ । आजको दिन नेपालको साथै भारतका विभिन्न स्थानमा रहेका कृष्ण मन्दिरमा भक्तजनको ठुलै घुइँचो लाग्ने गर्दछ ।
यसै क्रममा नेपालमा ललितपुर मंगलबजारस्थित कृष्ण मन्दिरमा भक्तजनको लाखौंकै संख्या घुईँचो लाग्ने गर्दछ । कृष्ण जन्माष्टमीको दिन यहाँ नेपालबाट मात्र नभई भारतबाट समेत भक्तजनहरु पुग्ने गर्दछन् ।
आज पनि सिद्धिनरसिंह मल्लको पालामा बनेको मंगलबजारस्थित कृष्ण मन्दिरमा निकै ठुलो भीड लागेको छ ।
दुई वर्ष कोभिड महामारीका कारण प्रभावित बनेको कृष्ण मन्दिर मेलामा आज भने भक्तजनहरुको भीड हेर्दा दुई वर्षसम्मको कुण्ठा पुरै पोखेको जस्तो भान हुन्थ्यो ।
कोभिड–१९ महामारी कारण दुई बर्षसम्म भक्तजनको दर्शनका लागि मन्दिरको मूल कलश मात्र तल पेटिमा राखिएको थियो भने माथि मन्दिरमा कसैलाई जान दिइएको थिएन ।
यस वर्ष भने भक्तजनले मन्दिर माथि नै गएर मनमोहक कृष्णको दर्शन गर्दै आनन्दको अनुभुति गरे । कृष्ण भगवानको दर्शन गर्न पूजा सामग्रीको साथमा मयुरको प्वाँखसमेत लिएर हिजो रातिबाटै भक्तजनहरुको लाम लागिसकेको थियो ।
दुई वर्षसम्म देउता दर्शन गर्न नपाएका भक्तजनहरु लाइनमा घण्टौं बसेर भएपनि मन्दिर पुगेका थिए ।
आज मंगलबजारमा भक्तजनहरुको सेवा र आवश्यक हेरविचार गर्न टोलको लगभग एक सय जना स्थानीय स्वयमसेवकको साथमा स्काउट र रेडक्रसको टोली र प्रहरी पनि खटाइएको मंगल टोल सुधार समितिका अध्यक्ष किरण मान प्रधानले समाचारडेस्कलाई बताए ।
‘मन्दिर माथि जाने भ¥याङ साँघुरो भएकोले हामीले भक्तहरुलाई एक पटकमा पाँच÷पाँच जना गरि पठायौं । यसरी गर्दा लाइन सर्न ढिलो र गार्हो भएकोले यसलाई अर्को वर्ष अलि चाँडो कसरी बनाउन सकिएला हामी सोच्नेछौँ’ उनले जोडे ।
यस्तै आजको यस मेलाको लागि ललितपुर महानगरपालिकाले मेच, पाल आदि व्यवस्थाको लागि ५५ हजार रुपैयाँ दिएको र टोलबासी विभिन्न संघसस्थाहरुबाटसमेत चन्दा उठाई आवश्यक व्यवस्था मिलाइएको प्रधानले बताए ।
सनातन धर्ममा आजको दिन श्रद्धा, भक्तिपूर्वक जाग्राम बसी कृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ ।
ज्ञान योग, कर्मयोग र भक्ति योगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।
अत्याचारी राक्षस कंशको अत्याचारबाट मुक्ति दिइ लोकको उद्धार गर्न वसुदेव र देवकीको आठौँ सन्तानको रुपमा आजैको दिन भगवान् विष्णुको आठौँ अवतार भगवान् श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णित छ ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण विश्वको रक्षा गर्न जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही धर्मस्थापना गरेको शास्त्रमा उल्लेख गरिएको छ । महाभारत युद्ध पूर्व श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश श्रीमद्भगवादगीता उच्चतम् शास्त्रमध्येमा लिइन्छ ।
Categorized in संस्कृति