arin enterprises

आकाश खुलेसँगै टिकाको चहलपहल बढ्यो

SamacharDesk – बिराज | २०७९ आश्विन २१, शुक्रबार

आज आश्विन शुक्ल द्वादशीको दिन, बडादशैँको क्रममा आज पनि नातागोता, आफन्तजनकोमा टीका लगाउने क्रम जारी छ ।

आश्विन शुक्ल प्रतिपदा घटस्थापनको दिनमा आगम कोठा, पूजा कोठा अथवा दशैंघरमा कलश स्थापना गरी लगाइएको जमरा नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजया दशमीका दिन विसर्जन गरी मान्यजनको हातबाट टीका प्रसाद लगाउने चलन छ ।

घरमा ठुलाबडाको हातबाट टीका प्रसाद ग्रहण गरेपछि आफन्तजनकहाँ टीका र आशिर्वाद थाप्न जाने परम्परा रहेको छ । यो क्रम आश्विन शुक्ल पुर्णिमासम्म चल्ने गर्दछ ।

कोजाग्रत पूर्णिमामा अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन सकिने शास्त्रीय मान्यता रहेको विज्ञहरुको भनाई छ ।

यसपालिको बडादशैंलाई अविरल वर्षाले प्रभावित बनाएपछि धेरैले न्यास्रो महसूस गरिरहेका थिए । साथमा वर्षाले टाढा टाढा रहेका आफन्तजनकहाँ टीका थाप्न जानलाई अप्ठ्यारो परिस्थिती बनाएको थियो ।

राजधानीमा भने आज आकाश खुलेर घाम लागेसँगै बाटो बाटोमा टीका थाप्न जानेको चलहपहल देखिएको छ ।

राजधानीमा आकाश खुलेको देखिए पनि पश्चिम नेपालमा अझै वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकाका नेवार समुदायमा भने अहिले नखत्या बोलाउने र जाने क्रम शुरु भएको छ ।

नेवार समुदायमा ठुला चाडपर्वहरु सम्पन्न भएपछि छोरीबेटीलाई नखत्या बोलाई भोज खुवाउने चलन छ । यहि क्रममा नेवार समुदायमा मोहनि नखः सम्पन्न भएसँगै नखत्याको क्रम सुरु भएको हो ।

नखत्या बोलाइएको आफन्तको गई भोज खानुको साथै ठुलाबडाको हातबाट टीका थाप्ने गरिन्छ ।

नेवार समुदायमा भने कालो रंगको टीको मोहनि सिन्हःको विशेष महत्त्व रहन्छ । दशमीको दिनमा टीका दिने क्रममा महानवमीमा जमरा लगाइएको आगम कोठामा थापिएको कालो टीका पनि लगाइदिने गरिन्छ ।

नेवार समुदायको टीकामा यहि मोहनि सिन्हः सबैभन्दा महत्त्वपूर्ण हुन्छ । यहि मोहनि सिन्हःको नामबाटै पर्वको नामसमेत रहन गएको विज्ञहरु भन्छन् । 

दशमीको दिनमा आगम कोठामा राखिएको जमरा विसर्जन गरिएसँगै शुरु हुने नखत्याको क्रम कोजाग्रत पुर्णिमासम्म चल्ने गर्दछ । अचेल भने व्यस्तताका बीच विदाको अवसर पारेर पुर्णिमा पछि पनि नखत्या बोलाउने गरिएको देखिन्छ ।

Categorized in संस्कृति