arin enterprises

बडादशैंको नवौं दिन आज महानवमी

SamacharDesk – बिकाश | २०७७ कार्तिक ९, आइतबार

आज आश्विन शुक्ल नवमी, बडादशैंको नवौं दिन । महानवमीको रुपमा आजको दिन मनाईँदैछ ।

आज नवरात्रीको अन्तिम दिन शक्तिस्वरूपा सिद्धिदात्रीको पूजा आराधना गरिँदैछ ।

कमलको फूलमा बसेकी यी देवीको दाहिनेतर्फका तल्लो हातमा चक्र, अर्को हातमा गदा तथा बायाँतर्फको तल्लो हातमा शंख तथा अर्को हातमा कमलको फूल लिएकी हुन्छिन् ।

संसारमा सिद्धि गर्न नसकिने केही पनि नभएको हुनाले यी देवीलाई सिद्धिदात्री भनिएको हो ।

भक्तजनहरूलाई जुनसुकै सिद्धि पनि दिन सक्ने साथै इच्छाअनुसारको फल दिने देवीको रुपमा यिनलाई लिइएको छ ।

देवी पुराणअनुसार पार्वतीबाट आएको सिद्धि नै भगवान् शिवजीबाट आएको सिद्धि हो । यिनकै कृपाले गर्दा भगवान् शिव अर्धनारीश्वर हुनुभएको हो ।

वैदिक मत अनुसार सिद्धिदात्रीको आराधना गरिने आजको दिनमा कौलिकहरु भने त्रिपुरासुन्दरीको उपासना गर्ने गर्दछन् ।

तलेजु भवानीलाई पनि त्रिपुरासुन्दरीको रुपमा लिने गरिन्छ । त्यसैले आज तलेजु भवानीको दर्शन गर्नेको पनि भीड लाग्ने गर्दछ ।

यसै सन्दर्भमा, वर्षमा महानवमीकै दिनमा मात्र खुल्ने काठमाडौंको तलेजु मन्दिर यस वर्ष भने बन्द रहेको छ ।

कोभिड १९ संक्रमणको जोखिम विद्यमान रहेको अवस्थामा यस वर्ष सर्वसाधारणका लागी तलेजु मन्दिर नखोलिएको हो ।

नवग्रह पूजा अन्तर्गत नवमीमा चन्द्रमाको ग्रह शान्ति पूजा गर्ने गरिन्छ ।

Categorized in संस्कृति